स्वतन्त्र प्रेसप्रतिको प्रतिबद्धतामा अडिग रहन सरकारलाई एसपीजेको आग्रह

जेष्ठ १०, २०८१ | काठमाडौं

अमेरिकी पेशागत पत्रकारहरुको संगठन ‘सोसाइटी अफ् प्रोफेसनल जर्नालिस्ट्स’ एसपीजेले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि सरकारले निष्पक्ष रुपमा छानबिन गर्ने आशा गरेको जनाएको छ । 

एसपीजेकी अध्यक्ष असान्टी ब्लेज हप्किन्सद्वारा जारी वक्तव्यमा कान्तिपुरका अध्यक्ष सिरोहियालाई रिहा गर्न माग गर्दै स्वतन्त्र र निर्बाध प्रेसप्रतिको प्रतिबद्धतामा सरकारलाई अडिग रहन आग्रह गरिएको छ ।

अध्यक्ष हप्किन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको अग्रणी दैनिक अखबार कान्तिपुरका प्रकाशक कैलाश सिरोहियालाई गृहमन्त्रीको निर्देशनमा पक्राउ गरिएको भन्ने हामीले भर्खरै थाहा पायौँ । वास्तवमा शृंखलाबद्ध रुपमा अनुसन्धान हुनुपर्ने त गृहमन्त्रीमाथि नै हो ।’

प्रहरीले नागरिकता सम्बन्धी छानबिनका लागि सिरोहियालाई नियन्त्रणमा लिइएको बताएपनि वास्तविकता उद्देश्य के हो भन्नेमा नेपाल पत्रकार महासंघसँग आफूहरुको प्रश्न रहेको अध्यक्ष हप्किन्सले बताउनुभयो ।

प्रतिशोधपूर्ण तरिकाले कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेर सम्पूर्ण प्रेस जगत्लाई तर्साउन खोजिएको हो कि भन्ने आशंका उब्जिएको समेत एसपीजेको वक्तव्यमा उल्लेख छ । 

कान्तिपुरका अध्यक्ष सिरोहियालाई जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको बहानामा मंगलबार कार्यकक्षबाटै प्रहरीले पक्राउ गरिएको हो । 

स्वतन्त्र प्रेसको कार्यालयमा राज्यका सुरक्षा निकाय प्रवेश नगर्ने लोकतान्त्रिक अभ्यासलाई कुल्चिँदै काममा रहेका बेलामा अध्यक्ष सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुर कार्यालयको आठौं तलाको कार्यकक्षमै पुगेको थियो । 

उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुकुमार भट्टराई र प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीको टोली बर्दीसहितका प्रहरी अधिकृत लिएर कार्यकक्षमा प्रवेश गरेका थिए ।

जिल्ला अदालत धनुषाले हिजो सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीलाई ३ दिनको म्याद दिएको छ । सत्ता र शक्तिको आडमा आफ्नो कर्तुत ढाकछोप गर्न कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको भन्दै सर्वत्र आलोचना भईरहेको छ । 

गृहमन्त्री रवि लामिछानेले प्रतिशोध र बदनियत राखेर कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेको भन्दै सञ्चार माध्यमहरुले पनि विरोध जनाएका छन् ।


प्रतिक्रिया