आज १७ औँ गणतन्त्र दिवस मनाइँदै

जेष्ठ १५, २०८१ | काठमाडौं

आज देशैभर आज १७ औँ गणतन्त्र दिवस मनाइँदै छ । देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइन्छ । 

जनआन्दोलनको जगमा संविधानसभाको पहिलो बैठकबाट राजतन्त्र फालेर मुलुक गणतान्त्रिक अभ्यासमा प्रवेश गरेको १६ वर्ष पूरा भएको छ । 

२०६२/६३ को ऐतिहासिक जनआन्दोलनबाट मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको हो । तत्कालीन सात राजनीतिक दल र नेकपा माओवादीबीच भएको सहमति अनुसार २०६४ चैत २८ गते ऐतिहासिक संविधानसभाको निर्वाचन सम्पन्न भयो । 

२०६५ जेठ १५ गते संविधानसभाको प्रथम बैठकले २४० वर्षदेखि कायम रहेको शाहवंशीय राजतन्त्र अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा गरेको थियो । 

पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो । २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरेको थियो । 

संविधान बमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयनको चरणमा छ । जसअनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । तर, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका प्रतीक मानिने संस्था कमजोर र विवादित बनाइँदा परिवर्तित शासन व्यवस्थाले अपेक्षित परिणाम दिन सकेको छैन । 

सरकारले ‘गणतन्त्र दिवस २०८१’ लाई भव्यरूपमा मनाउन प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा ‘गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ । यस वर्ष जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र तथा विदेशस्थित नेपाली राजदूतावास नियोगमा दीपावली लगायत कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय भएको छ ।


प्रतिक्रिया