छिपछिपे उपभोक्ता संस्थाको मुद्दा आइतवार अदालतमा पेश हुने

जेष्ठ १८, २०८१ | नवलपरासी

पूर्वी नवलपरासीस्थित छिपछिपे उपभोक्ता सहकारी संस्थाको १६ करोड ५८ लाख रकम हिनामिना प्रकरण बारेको मुद्दा आइतबार मात्र जिल्ला अदालतमा पेश हुने भएको छ ।

सहकारीको बचत हिनामिनामा संलग्न भएका ३५ जनालाई विपक्षी बनाएर आज दर्ता गरिने भनिएको मुद्दाको प्राविधिक काम नसकिएपछि आइतबारका लागि सारिएको हो ।

सञ्चालक समिति र व्यवस्थापकको मिलोमतोमा सो सहकारीमा २४ सय बचतकर्ताले जम्मा गरेको सो रकम अपचलन भएको छ । प्रहरीले झण्डै ३ महिना लामो अनुसन्धान सकेर जिल्ला न्यायधिवक्तालाई गत शुक्रवार प्रतिवेदन बुझाएको थियो ।

न्यायधिवक्ताले प्रहरीको अनुसन्धान प्रतिबेदनमा राय सहित पठाउन पर्ने भएकाले एक साता बढि समय लागेको हो । छिपछिपे उपभोक्ता संस्थाका हालका व्यवस्थापक योगेन्द्र पाण्डे रकम अपचलनका मुख्य योजनाकार देखिएका छन् ।

रकम अपचलनमा सहयोग पुरयाउने संचालक समितिका हालका अध्यक्ष गोपि शर्मा र कर्मचारी समेत गरेर ३५ जनालाई बिपक्षी बनाएर प्रहरीले अनुसन्धान गरेको छ । प्रहरीले सहकारीको रकम घोटलामा संलग्न १० जनालाई हिरासतमा राखेको छ । अन्य २५ जना फरार रहेका छन् ।

३५ जनावाट १६ करोड ५८ लाख रकम असुलउपर गरि त्यति नै रकम हर्जना र कैद सजाय हुनपर्ने माग प्रहरीले गरेको छ ।   



प्रतिक्रिया