आजपनि संघीय संसद्को दुवै सदनको बैठक बस्दै, गृहमन्त्रीको राजिनामा प्रतिपक्षीको बटमलाईन

जेष्ठ २२, २०८२ | काठमाडौं

प्रतिपक्षी दलको अवरोधले पटक–पटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज पनि बोलाइएको छ । भिजिट भिषा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा मागले अवरुद्ध बन्दै आएको प्रतिनिधिसभाको बैठक दिउँसो एक बजेका लागि बोलाइएको हो ।

भिजिट भिसाको आवरणमा मानव तस्करी गरिएको विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने विपक्षी दलको मागमा सत्तापक्ष सहमत नहुँदा बैठक सहजरुपमा सञ्चालन हुन सकेको छैन । संसद् बैठक लगातार अवरुद्ध हुँदा १५ जेठमा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल समेत प्रभावित बन्दै गएको छ । आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको राजश्व र व्यवको वार्षिक अनुमानमाथि छलफलको कार्यसुची राखिएको छ ।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२÷८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुनेछ । सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने पहिलेको मागमा लचिलो बनेका विपक्षी दलहरूले संसदीय छानबिन समितिलाई बटम लाइन बनाएका छन् । समिति गठन नगरिए संसद् बैठक चल्न नदिने उनीहरुको अडान छ । सभामुख देवराज घिमिरेले बैठक नियमित रुपमा सञ्चालन गराउन दलका प्रमुख सचेतकहरुसंग पटकपटक छलफल गरेपनि सफल हुनु भएको छैन ।

यसैबीच संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको बैठक दिउँसो सवा एक बजेका लागि बोलाइएको छ ।  


प्रतिक्रिया