माधव नेपालसहित ९३ जना विरुद्ध भ्रष्टाचार मुद्धा

जेष्ठ २२, २०८२ | काठमाडौं
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित ९३ जना विरुद्ध पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्धा दायर गरेको छ । १८ करोड ५८ लाख ५० हजार विगो माग गर्दै अख्तियारले पूर्व प्रधानमन्त्री नेपाल, पुर्व मन्त्री प्रेमबहादुर सिंह, पूर्व मन्त्री डम्वर श्रेष्ठ, पूर्व मन्त्री माधव घिमिरे, भूमिसुधार मन्त्रालयका तत्कालिन सचिव छविराज पन्त र पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी, नेपालका प्रमुख शालिग्राम सिंह सहितलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
पतञ्जलीको कम्पनी सञ्चालनका लागि हदबन्दीमा भन्दा बढी जग्गा खरिद गरेको र सो जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको लगायत आरोप उनीहरुलाई लागेको छ । उद्योग सञ्चालन गर्न भनी हदबन्दी छुट दिइएको जग्गा उद्योग सञ्चालन नगरी दुई महिनाभित्रै कानुनविपरीत बिक्री गर्न माधव नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले २०६६ सालमा स्वीकृति दिएको दावी अख्तियारले गरेको छ । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले सरकारी सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा ९३ जनाविरुद्ध मुद्धा दायर भएको जानकारी दिए । २०६६ साल चैत ६ गतेको निर्णय अनुसार जफत गरिएको ३ सय १४ रोपनी भन्दा बढी जग्गा विभिन्न व्यक्तिलाई विक्रि गराई निजी प्रयोग प्रचलनमा हुने गरि हस्तान्तरण गरेर भ्रष्टाचार भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
अख्तियारले छुट्टाछुट्टै कसुर किटान गरी नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । तत्कालीन कानूनमन्त्री प्रेमबहादुर सिंह, भूमिसुधारमन्त्री स्व.डम्बर श्रेष्ठ, तत्कालीन मुख्यसचिव स्व. माधवप्रसाद घिमिरे र तत्कालीन भूमिसुधार सचिव छविराज पन्तलाई समेतलाई प्रतिवादी बनाइएको छ । प्रतिवादी बनाइएका अन्यमा सरकारी कर्मचारी छन् ।
अख्तियारले पतञ्जलि योगपीठलाई समेत मुद्दामा प्रतिवादी बनाएको छ । तर योगपीठका संरक्षक योगगुरु बाबा रामदेव एवं सञ्चालक आचार्य बालकृष्णमाथि भने मुद्दा दायर भएको छैन । दुवैजना पतञ्जलि योगपीठसँग आवद्ध भए पनि नेपालमा उनीहरूले शालिकराम सिंहलाई आफ्नो आधिकारिक प्रतिनिधि तोकेका थिए । जग्गा सट्टापट्टा अनियमितताको उजुरीपछि अख्तियारले सार्वजनिक सूचना नै निकालेर रामदेव र आचार्य बालकृष्णलाई बोलाएपनि उनीहरु बयानका लागि आएका थिएनन् ।
यसैबीच, एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधव नेपाल जग्गा प्रकरणमा दोषी नभएको जिकिर गरेको छ । सो पार्टीका नेता राजेन्द्र पाण्डेले संसद भवनमा सञ्चारकर्मीैसँग कुरा गर्दैै अध्यक्ष नेपाल भ्रष्टाचारको काममा दोषी नभएको बताए । एकीकृत समाजवादीले राजनीतिक प्रतिशोध राखेर नेपालमाथि मुद्धा लगाइएको आरोप समेत लगाएको छ । यसैबीच, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बन भएको छ । नेपाल २०७९ को प्रतिनिधिसभा निर्वाचनमा रौतहट–१ बाट विजयी भएका थिए । भ्रष्टाचार निवारण ऐनमा भ्रष्टाचार मुद्दा दायर भएसँगै सार्वजनिक पद धारण गरेका कर्मचारी, पदाधिकारी मुद्दाको किनारा नलागेसम्म स्वतः निलम्बन हुने व्यवस्था छ ।