संसद्मा विनियोजन विधेयकमाथिको छलफल आजदेखि

जेष्ठ २९, २०८१ | काठमाडौं

प्रतिनिधि सभामा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकमाथि आजबाट मन्त्रालयगत छलफल प्रारम्भ हुँदैछ । 

यसअघि सरकारले बजेट पुस्तिका समयमै उपलब्ध गराउन नसक्दा सांसदले मन्त्रालयगत बजेट अध्ययन गर्न नपाएको भन्दै दुई दिनका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक आज बस्न लागेको हो । 

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजे बस्ने प्रतिनिधि सभामा बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकमाथि मन्त्रालयगत छलफल हुने संघीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ । 

आइतबारदेखि नै विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमाथि छलफल हुने भनिए पनि सरकारले सांसदलाई बजेट पुस्तिका उपलब्ध नगराएको भन्दै आइतबार र सोमबारका लागि तय गरिएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको थियो । 

आजको बैठकमा युवा तथा खेलकुद, शिक्षा विज्ञान तथा प्रविधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको छ । 

यसैगरी बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले विनियोजन विधेयक अन्तर्गत युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

यस्तै, सांसद बद्रीप्रसाद पाण्डे, सांसद अमरेश कुमार सिंह, पुष्पबहादुर शाह, रमा कोइराला र संजय कुमार गौतमले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ । 


प्रतिक्रिया