परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले नवजात शिशुमा वंशानुगत रोगको निदान गर्ने

आश्विन २०, २०८१

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले अबदेखि नवजात शिशुमा वंशानुगत रोगको निदान गर्ने भएको छ । त्यसका लागि अस्पतालले न्यु बर्न स्क्रिनिङ सेवा सुरु गरेको छ । यस प्रकारको स्क्रिनिङबाट नवजात शिशुमा हुने वंशानुगत रोग पत्ता लगाउन सकिनेछ । 

नवजात शिशुमा हुनसक्ने मेटाबोलिक डिसअर्डर पहिचान गरी समयमै उपचार गर्न र नवजात शिशुको मृत्युदर घटाउन सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । अस्पतालले गत साउनदेखि हालसम्म २ सय ५ जना शिशुमा यस प्रकारको परीक्षण गरिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आज एक समारोहका बीच सो सेवाको औपचारिक शुभारम्भ गर्नुभयो । कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नवजात शिशुको परीक्षणका लागि आवश्यक व्यवस्थापन गर्न स्रोत साधनको कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।

यसैबीच, अस्पतालले गर्भवती तथा सुत्केरीका लागि मानसिक स्वास्थ्य सेवाको ओपीडी पनि सुरु गरेको छ । अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले गर्भधारण गरेका वा सुत्केरी भएका बेला मानसिक समस्याको जोखिम बढी भएकाले मनोस्वास्थ्य ओपीडी सेवा सुरु गरिएको बताउनुभयो । 


प्रतिक्रिया