रास्वपा सभापति लामिछाने पक्राउ

कार्तिक २, २०८१

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ पर्नु भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होबिन्द्र बोगटीको नेतृत्वको टोलीले उहाँलाई रास्वपाको पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरेको हो । लामिछानेले पौने ७ मा पक्राउ पुर्जी बुझेर कागजमा हस्ताक्षर गर्नु भएको थियो । उहाँलाई अहिले स्थलमार्गबाट पोखरा लगिँदैछ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न शुक्रबार अनुमति दिएको हो । लामिछानेमाथि अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले माग गरे अनुसार अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

अदालतबाट पक्राउको अनुमति पाएपछि कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्लाप्रहरी कार्यालय काठमाडौंलाई पक्राउ गरी पठाइदिन पत्राचार गरेको थियो । गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका लामिछानेले गीतेन्द्रबाबु (जीबी) राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो ।

यसैबीच रास्वपा सभापति रवि लामिछानेले सरकारसँग सम्झोता नगरेर यो अवस्था आएको बताउनु भएको छ । पक्राउ पर्नुअघि सम्बोधन गर्दै उहाँले देशले देख्दै गरेको आशा र भरोसामाथि सरकारले प्रहार गरेको बताउनुभयो । आफुले कुनैपनि किसिमको अपराध नगरेको सभापति लामिछाने दोहोर्‍याउनुभयो ।


प्रतिक्रिया