वीरगन्ज नाकाबाट १ सय १० टन चिनी आयात

कार्तिक २, २०८१ | वीरगन्ज

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले वीरगन्ज नाकाबाट १ सय १० टन चिनी भित्र्याएको छ । 

कर्पोरेशन मधेश प्रादेशिक कार्यालय वीरगन्जका सूचना अधिकृत संजय गुप्ताका अनुसार, दशैं अघि असोज २४ गते वीरगन्ज भन्सार नाका हुँदै ३ वटा ट्रकमा गरी १ सय १० टन चिनि भित्रिएको हो । 

साल्टले गत वर्षकै सरकारी कोटा अन्तर्गत भारतबाट ५ हजार ४ सय ५० टन चिनी भित्र्याउन लागेको हो । भारतीय कम्पनी नेशनल कोअपरेटिभ एक्सपोर्ट्स लिमिटेड नयाँ दिल्ली आपूर्तिकर्ता रहेको सो कन्साइन्मेन्ट अन्तर्गत सबै चिनी भारतको उत्तर प्रदेश राज्यको गोबिन्द सुगर मिल्स लखिमपुर छेहरीबाट खरिद गरी नेपाल ल्याईँदै छ । 

तिहार र छठ पर्व अघिनै सबै चिनी भित्र्याईसक्ने लक्ष्य रहेको पनि उहाँले बताउनुभयो । दशैंको तुलनामा तिहार र छठ पर्वमा चिनीको माग बढी हुने गरेको छ । संघीय सरकारले साल्ट र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई गत बर्ष नै चिनीको कोटा दिएकोमा साल्टले गत वर्षकै कोटाबाट हाल चिनी आयात गरी रहेको उहाँले बताउनुभयो ।  


प्रतिक्रिया