सुस्तामा अनुमतिविना हातियारधारी भारतीय सुरक्षाकर्मीको प्रवेश
कार्तिक १७, २०८१ | परासी
पश्चिम नवलपरासीस्थितसीमा जोडिएको सुस्तामा भारतीय हतियारधारी सुरक्षाकर्मी गैरकानुनी रुपमा नेपाल प्रवेश गरेका छन् ।
भारतीय हतियारधारी सशस्त्र वन रक्षकको टोली सुस्ताका दुईजना नेपालीलाई पक्राउ गर्न उनीहरु हिजो गाडीसहित नेपाल प्रवेश गरेको पाइएको हो ।
गैरकानुनी रुपमा नेपाली भूमिमा प्रवेश गरेका उनीहरुलाई स्थानीयले घेरा हालेर नियन्त्रणमा लिइ नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई खबर गरेका थिए ।
प्रहरीको अनुसन्धानका क्रममा उनीहरुले आफूहरु सशस्त्र वनरक्षक भएको र गस्ती गर्ने क्रममा बाटो भुलेर नेपाल प्रवेश गरेको बयान दिएको प्रहरीले जनाएको छ ।
पाँचजनाको समूहमा नेपाल प्रवेश गरेका उनीहरु भारतीय भूभाग हुँदै बिना अनुमति सोझै हतियारसहित सुस्ता प्रवेश गरेका हुन् । सुस्तामा अरु बेला पनि भारतीय सशस्त्र सीमा बललगायत सुरक्षाकर्मीबाट लुटिने, कुटिने, दुर्व्यवहारजस्ता घटना हुँदै आएका छन् ।