रास्वपा सभापति लामिछानेलाई बुटवल लैजाने तयारी
कार्तिक १९, २०८१ | काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धान गर्न प्रहरीले बुटवल लैजाने तयारी गरेको छ । कार्तिक २ गतेदेखि सहकारी ठगी मुद्दाको अनुसन्धानकै क्रममा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेमाथि थप अनुसन्धानका लागि बुटवल लैजाने तयारी भएको हो ।
कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद कात्तिक १४ गते नै सकिएको छ । तर, तिहार बिदाका कारण हिरासतमै रहेका लामिछानेलाई म्याद थप नभएको अवस्थामा भोलि र म्याद थप भएमा छठ पर्वपछि बुटवलमा उपस्थित गराउने तयारी भएको रूपन्देही प्रहरीले जनाएको छ । बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैंयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न रूपन्देही जिल्ला अदालतले लामिछाने र फरार जिबी राईसहित १२ जनालाई पक्राउ गर्न अनुमति दिएको थियो ।
प्रहरीले अदालतको त्यही अनुमतिअनुसार अनुसन्धानका लागि बुटवल लैजाने तयारी गरेको हो । बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
लामिछानेलाई अनुसन्धानका लागि अदालतको अनुमतिअनुसार रूपन्देही पठाइदिन रूपन्देही प्रहरीले एक साताअघि नै पत्राचार गरेको थियो । त्यही पत्र अनुसार छठ पर्व सकिएपछि बुटवल ल्याउने तयारी भइरहेको रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिनुभयो । लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे पनि कास्की प्रहरीको हिरासतमै छन् । बञ्जाडेको भने यस अघि नै बुटवलमा बयान सकेर कास्की लगिएको छ ।