दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
मंसिर ५, २०८१ | काठमाडौं
साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
काठमाडौँ जिल्ला अदालतले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।
प्रसाईंलाई म्याद थपका लागि अदालतमा आज उपस्थित गराइएको थियो । प्रसाईंविरुद्ध प्रहरीले आपराधिक लाभ लगायत आधा दर्जन कसूरमा अनुसन्धान सुरु गरेको छ । झापाको बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजका सञ्चालकसमेत रहेका प्रसाईंविरुद्ध सीआईबीले आपराधिक लाभ, सम्पत्ति शुद्धीकरण, साइबर अपराध, संगठित अपराध, किर्ते र बैंकिङ कसूरमा अनुसन्धान थालेको हो ।
प्रहरीले प्रसाईंसँग जोडिएका आर्थिक कारोबारसम्बन्धी आवश्यक कागजात उपलब्ध गराउन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्रीबारे दुष्प्रचार गरेको आरोपमा प्रसाईंलाई भक्तपुरस्थित उनकै निवासबाट सीआईबीले हिजो पक्राउ गरेको थियो ।
प्रसाईंले साइबर अपराधसम्बन्धी कानूनको बर्खिलाप गएर प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।