एनपीएलमा आजः चितवन विराटनगरसँग पराजित, कर्णालीको चौथो जित
मंसिर २८, २०८१ | काठमाडौं
नेपाल प्रिमियर लिग क्रिकेट अन्तर्गत आज भएका खेलमा विराटनगर किङ्ग्स र कर्णाली याक्स विजयी भएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले चितवन राइनोजलाई ५१ रनले पराजित गर्दा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हरायो । आजको दोस्रो खेलमा १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनाउन सक्यो ।
चितवनका लागि अमरसिंह राउटेलाले सर्वाधिक ४२ रन जोडे । विराटनगरका कप्तान सन्दीप लामिछानेले २ तथा क्रिस सोल, बसिर अहमद र सुवास भन्डारीले समान १÷१ विकेट लिए ।
त्यसअघि टस जित्दै पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको थियो । विराटनगरका बसिर अहमदले सर्वाधिक ६८ रन जोडे ।
चितवनका रिजन ढकालले २ तथा बासिल हमिद, कुशल मल्ल र सोहेल तन्भिरले समान १ विकेट लिए । जितसँगै विराटनगर ६ खेलबाट ४ अङ्कका साथ पाँचौं स्थानमा उक्लेको छ । प्लेअफमा स्थान बनाउन विराटनगरलाई आफ्नो अन्तिम खेलमा जित्नै पर्ने दबाब छ ।
विराटनगरको अर्काे खेल पर्सि आइतवार काठमाडौं गुर्खाजसँग खेल्ने छ । यता, चितवन ६ खेलबाट ६ अङ्कसहित चौथो स्थानमा छ । चितवनले आफ्नो अन्तिम खेल भोली जनकपुर बोल्ट्ससँग खेल्ने छ ।
कर्णाली याक्सको प्लेअफ प्रवेश सम्भावना बलियो
आजै भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले पराजित गर्दै प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ ।
१ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय २३ रन मात्र जोड्यो । लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ रन जोडे ।
कर्णालीमा जिशान मकसूदले २ तथा कप्तना सोमपाल कामी, नन्दन यादव, विपीन शर्मा र विलियम बोसिस्टोले समान एक÷एक विकेट लिए । त्यसअघि, त्रिवि मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो ।
कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन जोडे । लुम्बिनीका विकास आग्रीले ३, तिलक राज भन्डारीले २ तथा साद विन जाफर र कप्तान रोहितकुमार पौडेलले समान १ विकेट लिए । जितसँगै कर्णाली ६ खेलबाट ८ अङ्क सहित तेस्रो स्थानमा उक्लिएको छ । लुम्बिनीले ७ मध्ये १ मात्र खेल जितेर एनपिएलको अन्त्य गरेको छ ।