लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि

पुस १६, २०८१ | देउखुरी

लुम्बिनी प्रदेश सभाको पाँचौं अधिवेशनको पहिलो बैठक आज मंगलबार देउखुरीमा बस्दै छ । साढे तीन महिनापछि प्रदेश सभाको हिउँदे अधिवेशन बस्न लागेको हो । प्रदेश सभाको चौंथो अधिवेशन गत भदौ ३१ गते बसेर अन्त्य भएको थियो ।

प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले मंगलबारको पहिलो बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश हुने बताउनुभयो । ‘पहिलो बैठकमा प्रदेश प्रमुखको प्रदेश सभा आहृवान सम्बन्धी पत्र पढेर सुनाउने र शुभकामना आदानप्रदान मात्र हुन्छ होला,’ उहाँले भन्नुभयो, ‘प्रदेश सभा कार्य व्यवस्था परामर्श समितिको बैठक केहीबेरमा बस्दैछ ।’ 

वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता भएर पिजन होलमा राखिएको र सो विधेयक प्रदेश सभाको पहिलो वा दोस्रो बैठकमा पेश हुनेछ । 

यसअघि प्रदेश सभाको चौंथो अधिवेशनबाट पारित भएर प्रदेश प्रमुख समक्ष प्रमाणीकरणका लागि पठाईएको प्रदेश निजामती सेवा ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा ३ बमोजिम पुर्नविचार गर्न आवश्यक देखिएकोले सन्देशसहित २०८१ असोज २२ गते प्रदेश सभामा फिर्ता गरेका थिए । 

फिर्ता भएका मध्ये निजामती सेवाको गठन, संचालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ भदौ २७ गते र प्रदेश निजामती सेवा ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयक भदौ ३१ गते प्रदेश सभाबाट पारित भएका थिए । फिर्ता दुवै विधेयक पहिलो बैठकमा पुनः छलफलका लागि पेश नहुने सचिव पुनले बताउनुभयो ।


प्रतिक्रिया