सिँचाई विभागका तत्कालीन इन्जिनियर श्रेष्ठ विरुद्ध ४ करोड ८८ लाख भ्रष्टाचार मुद्दा

पुस २८, २०८१ | काठमाडौं

पदीय जिम्मेवारीको दुरुपयोग गर्दै ४ करोड ८० लाख रुपैया भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलश्रोत तथा सिँचाई विभागका तत्कालीन इन्जिनियर विष्णु कुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

लामो समयसम्म विभाग मातहतका कार्यालयमा रहेका श्रेष्ठले जल उत्पन्न प्रकोप नियन्त्रणका लागि निमार्ण हुने संरचना बनाउने क्रममा विभिन्न निर्माण कम्पनीसँगको मिलेमतोमा चल अचल सम्पत्ती जोडेको अख्तियारले जनाएको छ ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार श्रेष्ठविरुद्ध ४ करोड ८८ लाख ३० हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालत काठमाडौंमा भ्रष्टाचार आरोप–पत्र दायर भएको हो । विसं २०४६ सालमा सरकारी सेवामा प्रवेश गरेर श्रेष्ठले २०७१ असार मसान्त सम्मको अवधिमा सो रकम भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । श्रेष्ठसहितका परिवारले यो अवधिमा ११ करोड २५ लाख ६५ हजार रुपैयाँ विभिन्न स्रोतमार्फत आम्दानी गरेको तर १६ करोड १३ लाख ९५ हजार रुपैयाँ खर्च तथा लगानी गरेको पाइएको छ ।

आम्दानीकोे तुलनामा बढी लगानी गरेको पाइएपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा आम्दानी र लगानीबिच देखिएको ४ करोड ८८ लाख रुपैयाँ बराबरको स्रोत नदेखिएपछि भ्रष्टाचार आरोप–पत्र दायर गरिएको अख्तियारका प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

सरकारी सेवाका क्रममा रहेका श्रेष्ठले गरेको लगानी वस्तुनिष्ठ आधार र प्रमाणबाट पुष्टि गर्न नसकेको तथा आफ्नो जिम्मेवारीको दुरुपयोग गर्दै गैरकानुनी सम्पत्ति आर्जन गरेको पाइएपछि भ्रष्टाचार मुद्दा दायर भएको हो । 


प्रतिक्रिया