संसद्मा विपक्षीको अवरोधप्रति सत्तारुढ दलको विमत्ति

श्रावण २१, २०८२ | काठमाडौं

भिजिट भिसा प्रकरण लगायत मुद्दा उठाएर प्रतिपक्षी दुई दल रास्वपा र राप्रपाले लगातार संसद बहिष्कार गरेको बिषयलाई लिएर सत्तारुढ दलले आपत्ति जनाएका छन् । तथ्य प्रमाण विना भिजिट भिसा प्रकरण सहितको बिषय उठाइएको ती दलको भनाइ छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद गोकुल बाँस्कोटाले संसदमा रास्वपाको विरोधको शैलीप्रति आपत्ति जनाउनुभएको हो ।

रास्वपाले आफ्नोबारे उठेको प्रश्नलाई अस्वीकार गर्ने तर अरु दलप्रति अनावश्यक विरोध गरिरहेको बाँस्कोटाको भनाइ छ । आफूमाथि उठेका प्रश्नको जवाफ नदिनु लोकप्रियतावाद भएको उहाँले उल्लेख गर्नुभयो ।

विपक्षी माओवादी केन्द्रका सांसद माधव सापकोटाले भने अहिलेको समाजमा लोकप्रियतावाद स्वभाविक भएको बताउनुभएको छ ।

यसैबीच, सत्तारुढ नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको बिषयमा रास्वपा सभापति रवि लामिछानेको पक्षमा सञ्चालित हस्ताक्षर अभियानप्रति प्रश्न उठाएको छ । कंग्रेस सांसद विश्वप्रकाश शर्माले लामिछानेलाई अन्याय भएको भन्दै गरिएको हस्ताक्षर अभियानप्रति आपत्ति जनाउनुभयो ।  

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेको छ । 

संघीय निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ बारे गरिएको त्रुटिमा खतिवडा जिम्मेवार रहेको निष्कर्षसहित छानविन समितिले प्रतिवेदन बुझाएको सन्दर्भमा रास्वपाले उहाँको राजिनामा मागेको हो । प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपाका सांसद मनिष झाले नैतिक आधारमा सभापति खतिवडाले पदमा रहन नमिल्ने बताउनुभयो । नैतिक प्रश्नको जवाफ दिनुपर्ने उहाँको भनाइ थियो ।

रास्वपा र राप्रपाले गत जेठ दोस्रो सातादेखि विभिन्न बिषयबारे आफ्नो धारणा राखेपछि बैठक बहिष्कार गर्दै आएका छन् । आफूहरुको माग सम्वोधनमा सभामुख देवराज घिमिरेले चासो नदिएको ती दलको आरोप छ । प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपाकी सांसद रोशन कार्कीले संसद सरकारप्रति उत्तरदायी बन्न खोजेको टिप्पणी गर्नुभयो ।

राप्रपा र रास्वपाले बहिष्कार गरेपनि प्रतिनिधिसभाको बैठक भने सञ्चालन हुँदै आएको छ ।


प्रतिक्रिया