सुप्रिम सहकारी प्रकरणः रकम अपचलनसम्बन्धी थप अभियोजन मुद्दा
माघ ३, २०८१ | काठमाडौं
जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनसम्बन्धी थप अभियोजन मुद्दा दर्ता गरेको छ ।
सुरुमा सहकारी ठगीसम्बन्धी मात्र मुद्दा दर्ता भएकोमा आज १७ जनालाई संगठित अपराध पनि थप गरेर मुद्दा दर्ता गरिएको जिल्ला सहन्यायाधिवक्ता एवं सूचना अधिकारी उमाकुमारी केसीले जानकारी दिनुभयो ।
पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडिआईजी छविलाल जोशीसहित जोडिएको पूरक जाहेरी अनुसारको अभियोजन भने भोलि दर्ता गरिने केसीले बताउनुभयो । पूरक अभियोजन आज नै दर्ता गर्ने प्रयास भएपनि समय अभावका कारण सम्भव नभएको बताइएको छ ।
सम्पत्ति शुद्धीकरणमा कास्की अदालतमा दर्ता भएर मुद्दा जारी रहेकाले अहिले दर्ता गर्नु नपर्ने निष्कर्षसहित ठगी र संगठित अपराधमा मात्र पूरक अभियोजन हुने केसीले बताउनुभयो । यसअघि, सरकारी वकिल कार्यालयले दुवै अभियोजन दर्ता गर्ने तयारी गरेको थियो ।
वैशाख ३ गते दर्ता भएको मुद्दामा प्रतिवादी बनाइएका सुप्रिम सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक गितेन्द्रबाबु राईसहितका २८ जनाविरुद्ध गत वैशाखमा मुद्दा दर्ता भएको थियो ।