उपकरण अभावमा आपतकालिन उद्धार कार्य गर्न समस्याः सशस्त्र प्रहरी

माघ ९, २०८१

सशस्त्र प्रहरी बलले उपकरणको अभावमा आपत्कालिन उद्धार कार्य गर्न समस्या भएको गुनासो गरेको छ । आफूहरुसँग जनशक्ति भएपनि स्रोत साधनको अभावमा उद्धार कार्यमा प्रभावकारी काम गर्न नसकिएको सशस्त्र प्रहरीको भनाइ छ । संगठनको २४ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सशस्त्र प्रहरीका आइजीपी राजु अर्यालले समस्या समाधानको पहल हुने विश्वास व्यक्त गर्नुभयो ।

आपराधिक गतिविधि न्यूनीकरण र सीमा क्षेत्रको सुरक्षा रहेका प्रहरी जवानले समस्या भोगिरहेको उहाँको भनाइ थियो । सशस्त्र प्रहरीका अनुसार, अन्तरदेशिय सीमाका लागि राखिएका २ हजार ३ सय ८ वटा सीमा स्तम्भको मर्मत गरिएको छ । संगठनको कामलाई प्रभावकारी बनाउन बिओपी निर्माण भएपनि कतिपय स्थानमा भवनका लागि जग्गा समेत नभएको आइजीपी अर्यालले बताउनुभयो ।

कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले सीमा क्षेत्रमा सशस्त्र प्रहरीलाई थप प्रभावकारी बनाउन सरकारले काम गरिरहेको बताउनुभएको छ ।

“नशारहीत युवा देशका कर्णधार, सुरक्षित सीमा समृद्ध राष्ट्र निमार्णको आधार” भन्ने नारा सहित आज विभिन्न कार्यक्रम गरि सशस्त्र प्रहरी दिवस मनाइएको छ । अर्धसैनिक सुरक्षा निकायका रुपमा सशस्त्र प्रहरीको स्थापना २०५७ सालमा भएको थियो । 


प्रतिक्रिया