पूर्वमन्त्री लामिछाने चितवन जिल्ला अदालतमा हाजिर
माघ २३, २०८१ | चितवन
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित हुनुभएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ठगी प्रकरणमा अदालतमा मुद्दा परेपछि लामिछाने बयान लागि आज अदालत हाजिर हुनुभएको हो ।
सहकारी ठगीको अभियोगमा पूर्वमन्त्री समेत रहेका लामिछानेसहित १५ जनाविरुद्ध हिजो जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । लामिछानेको बयान जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा हुने भएको छ । चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्कर्माका अनुसार लामिछानको बयान लिने तयारी भएको र त्यसपछि थुनछेक बहस सुरु हुनेछ ।
अदालतमा पेस भएको अभियोगपत्रमा गोर्खा मिडिया नेटवर्क स्थापनाका लागि ‘सिडमनी’का रुपमा साहारा सहकारीबाट एक करोड रुपैयाँ लगेको उल्लेख छ । योसहित सो सहकारीबाट ठगी गरी गोर्खा मिडियामा १० करोड ८० लाख १८ हजार रुपैयाँ लगिएको दाबी छ ।
यस्तै लामिछानेको एकल हस्ताक्षरबाट गोर्खा मिडियाका ८ सय १४ वटा चेकमार्फत विभिन्न ठाउँमा ४८ करोड ५८ लाख २२ हजार रुपैयाँ भुक्तानी गरेको अभियोगमा उल्लेख छ ।
लामिछानेविरुद्ध यसअघि कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतमा संगठित अपराधको कसूरमा पनि मुद्दा दायर भएको थियो । अभियोगपत्र अनुसार, लामिछानेले सहकारीबाट गोर्खा मिडियामा आएको रकम अरुलाई दिनुका साथै आफूले समेत तलबबाहेक २७ लाख लिएका छन् ।
श्रीमती निकिता पौडेललाई ५९ लाख ३८ हजार र गोपीकृष्ण मुभिजलाई ८१ लाख २५ हजार भुक्तानी दिएको पाइएको छ । गोर्खा मिडियाको आधिकारिक व्यक्ति हुनुअघि र अलग भइसकेपछि पनि केही चेकमा लामिछानेको हस्ताक्षरबाट कारोबार भएको भेटिएको छ ।