लेबनानमा शान्ति सुरक्षार्थ खटिएका नेपाली सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते

फाल्गुन ३, २०८१ | काठमाडौं
संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तर्गत लेबनानमा शान्ति सुरक्षार्थ खटिएका नेपाली सेनाका उपरथी चोक बहादुर ढकालमाथि आक्रमण भएको छ । आक्रमणमा परि उपरथी ढकाल घाइते हुनु भएको नेपाली सेनाले जनाएको छ ।
गएराति करीब १२ बजेतिर राजधानी बेरुत नजिक यूएनआईएफआईएल (UNIFIL) मिसनका डेपुटी फोर्स कमाण्डर नेपाली सेनाका उपरथी ढकाल सवार गाडीलाई उत्तेजित प्रदर्शनकारीले रोकेर तोडफोड गरेका थिए ।
उहाँलाई तत्कालै उद्धार गरी यूएन लेभल–थ्री अस्पताल लगिएको थियो । 'डेपुटी फोर्स कमाण्डर नेपाली सेनाका उपरथी चोक बहादुर ढकाल सवार कन्भोयलाई उत्तेजित प्रदर्शनकारीरभिडले रोकी तोडफोड गर्दा उपरथी ढकाल घाइते भएका छन्,' निर्देशनालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘घटनापश्चात उहाँलाई तत्कालै उद्धार गरी यूएनको लेभल थ्री अस्पताल बेरुत पुर्याइएको थियो ।’
ढकालको अवस्था खतरामुक्त रहेको अस्पताललाई उद्दृत गर्दै जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । डेपुटी फोर्स कमाण्डर ढकाल आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्कने क्रममा हुनुहन्थ्यो ।
घटनाको सम्बन्धमा यूएनआईएफआईएल (UNIFIL) मिसन हेडक्वार्टरले विज्ञप्ति जारी गर्दै दक्षिण लेबनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिकमाथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ ।
संयुक्त राष्ट्र संघले शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा गर्दै घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाही गर्न लेबनानी सरकार समक्ष माग गरेको छ । घटनाको भत्र्सना गर्दै लेबनानका प्रधानमन्त्री र लेबनिज आर्मड फोर्सले तत्काल अनुसन्धान गरी संलग्न व्यक्ति/ समूहलाई कारबाहीको दायरामा ल्याउने बताउनु भएको छ ।
