भन्सार विधयेक पारित गर्ने सरकारको तयारी

वैशाख १६, २०८२ | काठमाडौं
सरकारले ‘भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रतिनिधि सभाबाट पारित गर्ने तयारी गरेको छ । प्रतिनिधि सभाको आजको बैठकबाट भन्सार विधयेक २०८१ पारित गर्ने तयारी सरकारले गरेको हो । प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदन सहितको भन्सार विधयेक २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ । त्यसपछि अर्थमन्त्री पौडेलले भन्सार विधयेक २०८१ पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
यो विधेयक तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतले संसदमा दर्ता गराउनु भएको थियो । २०८० असोज १८ मा प्रतिनिधि सभामा दर्ता भएको यो विधेयक २०८० चैत १८ मा प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा दफावार छलफलका लागि पुगेको थियो ।
यस्तै, ‘केही नेपाल ऐन संशोधन गर्ने विधयेक’ पनि आजै पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले कानून न्याय तथा मानव अधिकार समितिको प्रतिवेशन सहितको ‘केही नेपाल ऐन संशोधन गर्ने विधयेक’माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ ।
यस्तै, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रिय सभामो उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधयेक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।