वर्तमान सरकार सुशासनको मामिलामा असफल भयोः पूर्वप्रधानमन्त्री दाहाल

असार ३०, २०८२ | काठमाडौं
विपक्षी दलहरुले विभिन्न घटनाको प्रसंग उठाउँदै वर्तमान सरकार सुशासनको मामिला असफल भएको आरोप लगाएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै विपक्षी दलका नेताहरुले भ्रष्टाचार अन्त्य गर्ने र सुशासन कायम गर्ने सरकारको प्रतिवद्धता पुरा हुन नसकेको टिप्पणी गरेका हुन् । संसद बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एक वर्षको अवधिमा संख्याको दम्भ देखाएर कुशासनको शृङखला अघि बढेको आरोप लगाउनुभयो ।
दुई ठूला दलबीचको गठबन्धबाट बनेको सरकारले ती दलका नेतालाई जोगाउने र विपक्षीलाई तर्साउने काम गरिरहेको दाहालको भनाइ छ । विपक्षी दलका नेतालाई फसाउने काममा सरकारले रेकर्ड बनाएको उहाँले टिप्पणी गर्नुभयो ।
संविधान संसोधनको एजेन्डालाई सत्तारुढ दलले जनतालाई झुक्याउन मात्र प्रयोग गरेको दाहालको भनाइ छ । सरकारको उद्देश्य संविधान संशोधन गर्ने नभएको पुष्टी भएको आरोप लगाउनुभयो ।
यसैबीच, अर्को विपक्षी दल राप्रपाले घुस लेनदेनमा मुछिएका मन्त्रीलाई कारवाही गर्न माग गरेको छ । संसद बैठकमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले विपक्षी दलको अवरोध जारी रहँदा संसद चलाएको भन्दै आपत्ति जनाउनुभयो । प्रतिपक्षी पार्टीले उठाएको विषय सम्बोधनका लागि सभामुखले समेत भूमिका खेल्न नसकेको अध्यक्ष लिङदेनको भनाइ छ ।
यसैबीच, विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद अशोक कुमार चौधरीले घुसका लागि डिल गर्ने मन्त्रीलाई कारवाही नगरिएको भन्दै आपत्ति जनाउनुभएको छ ।
यता, सत्तारुढ दल एमालेकै सांसद किरण कुमार साहले घुस लेनदेनको आरोप लागेका मन्त्री राजकुमार गुप्तालाई बर्खास्त गर्न माग गर्नुभयो ।