‘लोकतन्त्रकली’को तेस्रो सन्तानको नाम ‘वेदगज’

श्रावण ७, २०८२ | चितवन

दिवङ्गत संरक्षणकर्मी वेदकुमार खड्काको सम्मानमा हात्तीको बच्चाको नामकरण गरिएको छ । चितवन खोरसोरको सरकारी हात्ती प्रजनन केन्द्रमा असार २८ गते जन्मेको भाले छावाको बुधबार नामकरण गरिएको हो । 

न्वारन गरेर नाम राख्ने परम्परा अनुरुप सो भाले छावाको नाम ‘वेदगज’ राखिने घोषणा गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले बताउनुभयो । 

खड्का चितवन राष्ट्रिय निकुञ्जमा लामो समय संरक्षण अधिकृत भएर काम गरी अवकाश पाएका व्यक्ति हुन् । उनी दुर्लभ जीव घडियाल गोही संरक्षणका लागि समर्पित थिए । खड्काको गत जेठमा निधन भएको थियो । 

संरक्षणकर्मी खड्काको सम्झना र सम्मानमा छावाको नामकरण गरिएको प्रमुख संरक्षण अधिकृत पन्तले बताउनुभयो । बुधबार नामकरण गरिएको छावा ‘लोकतन्त्रकली’ नामक हात्तीको तेस्रो सन्तान हो । 

वि.सं. २०६३ बैशाख ११ गते जन्मिएकै कारण सो हात्तीले ‘लोकतन्त्रकली’ नाम पाएको हो । ०६२÷६३ को जनआन्दोलन सफल भई त्यसै दिन नेपालमा लोकतन्त्र पुनः स्थापना भएको थियो । त्यसअघि हात्तीको छावाको नाम पनि दरबारबाटै राख्ने चलन थियो । 

‘लोकतन्त्रकली’को नाम पहिलो पटक चितवन निकुञ्ज प्रशासनबाटै राखिएको थियो । ‘लोकतन्त्रकली’को पहिलो सन्तान ‘बुधगज’ र दोस्रो ‘स्वर्णकली’ हुन् । भाले हात्तीको नामको पछाडि ‘गज’ र पोथीको नामको पछाडि ‘कली’ राख्ने चलन छ ।


प्रतिक्रिया