महाकाली वारीका नेपाली भूभागमा कुनै पनि गतिविधि नगर्न सरकारको आग्रह

रेडियो कान्तिपुर संवाददाता

भाद्र ५, २०८२

नेपाल सरकारले छिमेकी देश भारत र चिनलाई महाकाली वारीका नेपाली भूभागमा कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ । भारत र चीनबीच नेपाली भूमि लिपुलेक पासबाट द्विपक्षीय व्यापार खोल्न भएको सहमतिप्रति नेपाल सरकारले ध्यानाकर्षण जनाएको हो । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालको संविधानमा समावेश भएको नेपालको आधिकारिक नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको दुवै छिमेकीलाई स्मरण गराएको छ ।

परराष्ट्र मन्त्रालयले नेपाल र भारतबीच रहिआएको घनिष्ट र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार ऐतिहासिक सन्धि–सम्झौता, तथ्य, नक्सा र प्रमाणका आधारमा दुबै देशबीचको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न पनि आग्रह गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको दुई दिने भारत भ्रमणका क्रममा भारत र चीनबीच नेपाली भूमि लिपुलेक पासबाट द्विपक्षीय व्यापार खोल्न सहमति भएसँगै लिपुलेकको विवाद फेरि सतहमा आएको छ । 


प्रतिक्रिया