नेपाल शिक्षक महासंघले भदौ ९ गतेबाट आन्दोलन गर्ने

भाद्र ६, २०८२ | काठमाडौं

नेपाल शिक्षक महासंघले विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै आन्दोलन घोषणा गरेको छ । 

काठमाडौैमा पत्रकार सम्मेलन गरेर महासंघले भदौ ९ गते राजनीतिक नेतृत्वलाई ज्ञापनपत्र बुझाएपछि देशभर सडक आन्दोलन सुरु गर्ने बताएको हो । प्रस्तावित शिक्षा विधेयक शिक्षकविरोधी भएको आरोप लगाउँदै महासंघले विधेयक तत्काल फिर्ता लिन सरकारलाई चेतावनी दिएको छ । 

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विगतमा भएका सहमति विपरित विधेयकलाई समितिबाट पारित गरिएको बताउनुभयो । महासंघले स्थायी प्रकृतिका शिक्षकको स्थायित्व लागि तोकिएको आन्तरिक परीक्षाको प्रतिशत सहमति अनुसार नभएको, स्थायी शिक्षकको आवधिक बढुवाको प्रबन्ध समावेश नगरिएको, बाल विकास शिक्षकको पद र सेवा सुविधा निश्चित नगरिएको लगायत आरोप लगाएको छ । 

त्यस्तै, शिक्षकलाई स्थानीय तह मातहत लैजाने व्यवस्थाप्रति समेत महासंघले आपत्ति जनाएको छ । यसैबीच, संसदको शिक्षा समितिले विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेको छ । समिति सभापति अम्मरवहादुर थापाले विपक्षी दलको फरक मतसहितको प्रतिवेदन पेश गर्नुभएको हो । विधेयकप्रति असन्तुष्टी जनाउँदै निजी विद्यालय सञ्चालकहरुले विरोधका कार्यक्रम शुरु गरिसकेका छन् । 


प्रतिक्रिया