इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णयबाट सरकारपछि हट्यो

भाद्र १०, २०८२ | काठमाडौं

सार्वजनिक र निजी सवारी साधनमा आगामी असोज १ गतेबाट अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णयबाट सरकारपछि हटेको छ ।

इम्बोस्ड नम्बर प्लेट जडान नगरे आगामी असोज १ गतेबाट कारबाही गर्नेे तयारीलाई लिएर चौतर्फी आलोचना भएपछि सरकारले यसबारे लचिलो नीति लिएको छ । यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै आफूलाई अनुकुल पर्ने समयमा आफ्नो सवारी दर्ता भएको कार्यालयबाट सो नम्बर प्लेट जडान गर्न सकिने जनाएको छ ।

पछिल्लो केही दिन यता इम्बोस्ड नम्बर प्लेटको गुणस्तर, तथ्याङ्कको विवरण लगायत विषयलाई लिएर भएको टिका टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाउँदै विभागले त्यसमा सत्यता नरहेको दाबी समेत गरेको छ । गत साउन २० गते बसेको संघ, प्रदेश र स्थानीय तह तीनै निकायका प्रतिनिनिध सम्मिलित विषयगत समितिको बैठकले सवारी दर्ता, नामसारी र नविकरण गर्नुअघि इम्बोस्ड नम्वर जडान गर्नुपर्ने निर्णय गरेपछि विभागले भदौ ३ गते सूचना सार्वजनिक गरेको थियो ।

त्यसपछि सवारी धनी र यातायात व्यवसायीले चर्को विरोध जनाएका थिए । त्यस्तै, आधुनिक प्रविधि भनिएको इम्बोस्ड नम्बर प्लेटबारे जाँचका लागि ट्राफिक प्रहरीसँग पर्याप्त स्रोत साधन नभएको भन्दै आलोचना हुँदै आएको छ । विभागले इम्बोस्ड नम्वर प्लेटमा अंग्रेजी भाषाको प्रयोग संवैधानिक र कानूनी आधारमा गर्न लागिएको प्रष्टिकरण दिएको छ । त्यस्तै, यातायात क्षेत्रको व्यवस्थापनलाई आधुनिकीकरण गर्न र डिजिटल नेपालको अवधारणालाई साकार पार्न इम्बोस्ड नम्बर प्लेट जडान महत्वपूर्ण रहेको भन्दै यसको सफल कार्यान्वयनमा सहयोग गर्न विभागले आग्रह गरेको छ ।  


प्रतिक्रिया