रास्वपाद्धारा पदाधिकारी थप्ने निर्णय/प्रत्यक्षतर्फ उम्मेदवार छान्न उपसमिति गठन
पुस २०, २०८२ | काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीमा पदाधिकारीको संख्या थप गर्ने निर्णय गरेको छ । काठमाडौंका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीसँग एकतापछि रास्वपाले नेता व्यवस्थापनका लागि पदाधिकारी थप्ने निर्णय गरेको हो ।
प्रवक्ता मनिष झाका अनुसार दुई जना उपसभापति तथा महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता एक / एक जना थप गर्ने निर्णय भएको छ । यसैबीच, रास्वपाले राजनीतिक समायोजन घोषणासभा भोलि गर्ने भएको छ ।
विभिन्न दल परित्याग गरी पार्टीमा प्रवेश गरेका नेताहरुलाई भित्र्याउन काठमाडौंमा समायोजन कार्यक्रम गर्न लागिएको सो पार्टीले जनाएको छ ।
यसैबीच, रास्वपाले उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा प्रतिनिधिसभा चुनावका प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गर्न उपसमिति गठन गरेको छ । त्यस्तै, महामन्त्री कबिन्द्र बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति गठन गरिएको छ ।









