ओखलढुंगामा श्रृंखलाबद्ध तीन जनाको हत्या र लुटपाट गर्ने गिरोह पक्राउ
पुस २०, २०८२ | काठमाडौं
प्रहरीले ओखलढुंगामा श्रृंखलाबद्ध रूपमा तीन जनाको हत्या तथा लुटपाट गर्ने गिरोहलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनीहरुलाई विभिन्न ठाउँबाट चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ओखलढुंगा चिसाङ्ग गाउँपालिका–३ का २८ वर्षीय संगम राई, रातमाटे बस्ने ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र ३० वर्षीय दोर्जे भन्ने अशोक भुजेल छन् ।
प्रहरीका अनुसार उनीहरुले २०८२ पुस १५ गते ओखलढुंगा चिशंखुगढी गाउँपालिका–६ का ६० वर्षीय शोभितमान थापा र श्रीमती ६० वर्षीय रत्नमाया थापा मगरलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेका थिए ।
हत्यापछि थापा दम्पत्तिबाट १ लाख नगद तथा गहन समेत लुटिएको प्रहरीको आरोप छ । सोही समूहले २०८२ असोज २६ गते ओखलढुंगा सिद्धिचरण नगरपालिका–४ को ५२ वर्षीया रत्नकुमारी कटवाललाई बञ्चरो प्रहार गरी हत्या गरेका थिए ।
हत्या पछि गहना र नगद लुटपाट गरेको अनुसन्धानबाट खुलेको व्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।









