चितवन २ बाट रवि लामिछाने निर्वाचित
फाल्गुन २३, २०८२
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सभापति रवि लामिछानेले प्रतिनिधि सभा सदस्य पदका लागि चितवन–२ बाट आज निर्वाचित हुनुभएको छ । उहाँले ५४ हजार ४०२ मत ल्याउनुभएको हो । लामिछानेको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मिनकुमारी खरेलको १४ हजार ५६४ मत आयो । एमालेका अस्मिन घिमिरेको ६ हजार ९४२ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रताप गुरूङको चार हजार ९६५९ आएको छ ।
लामिछाने २०७९ को निर्वाचनमा पहिलो पटक यही क्षेत्रबाट सांसद निर्वाचित हुनुभएको थियो । यो क्षेत्रमा उपचुनाव हुँदा उहाँ नै उम्मेद्वार बनेर विजयी हुनुभएको थियो । चितवन–२ बाट लामिछानेको यो तीन वर्षको अन्तरालमा तेस्रो जित हो ।
२०७९ सालको निर्वाचनमा लामिछाने ४९ हजार तीन सय मत ल्याएर विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्ववन्दी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र तेस्रो स्थानमा रहेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याउनुभएको थियो ।
निर्वाचित भएसँगै लामिछाने गृहमन्त्रीसमेत बन्नुभएको थियो । अमेरिकी नागरिकता त्यागेर फेरि नेपाली नागरिकता लिदा प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले २०७९ को माघमा लामिछानेको सांसद पद खारेज गरेको थियो । त्यसपछि चितवन–२ मा उपचुनाव भएको थियो । प्रक्रिया पूरा गरेर नागरिकता लिएपछि उप चुनावमा पनि लामिछाने नै उम्मेदवार बन्नुभएको थियो । २०८० बैशाखमा भएको उपचुनावमा लामिछानेले पहिलाको भन्दा पनि धेरै ५४ हजार १७६ मत ल्याएर विजयी हुनुभएको थियो । त्यो बेला उहाँको निकटतम प्रतिस्पर्धी रहेका नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको ११ हजार २१४ र तेस्रो स्थानमा रहेका एमालेका रामप्रसाद न्यौपानेको १० हजार ९३६ मत आएको थियो । त्यसपछि २०८१ पुस ७ मा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता भएपछि लामिछानेको पद निलम्बनमा परेको थियो । उहाँ निलम्बनमा रहदा भदौ २३ र २४ मा जेनजीहरूको आन्दोलन भयो । जसका कारण तत्कालिन सरकारका प्रधानमन्त्री केपी ओलीले राजीनामा दिनुभयो । त्यसपछि गठन भएको सरकारले जेनजी आन्दोलनको मर्म अनुसार भन्दै संसद विघटन गरेको थियो । जसका कारण फागुन २१ मा यो निर्वाचन भएको हो ।









