राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुले सपथ लिए
फाल्गुन २५, २०८२ | काठमाडौं
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुले आज सपथ लिएका छन् । संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आज सांसदहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । गत माघ ११ गते १८ सदस्यका लागि निर्वाचन भएको थियो ।
विशेष समारोहका बिचमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नव निर्वाचित सदस्यहहरुलाई शपथ गराउनुभएको हो । गत माघ ११ गते भएको निर्वाचनमा १८ जना नयाँ सांसद चुनिएका थिए । कोशी प्रदेशबाट सुनिलबहादुर थापा, रोशनी मेचे र सोम पोर्तेल निर्वाचित हुनुभयो ।
त्यस्तै, मधेश प्रदेशबाट महन्थ ठाकुर, धमेन्द्र पासवान, रन्जित कर्ण र रेखा झा निर्वाचित हुनुभएको थियो । बागमती प्रदेशबाट गीता देवकोटा र डा. प्रेम दंगाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, वासुदेव जंगली र चन्द्रबहादुर केसी निर्वाचित हुनुभयो । यसैगरी कर्णाली प्रदेशबाट ललितजंग शाही र मिना रखाल तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती र लीला भण्डारी निर्वाचित हुनुभएको थियो ।











