बालबालिका कमाउने, बाबुआमा रक्सीमा रमाउने

चैत्र १९, २०७३ | बझाङ
एक हुल कलिला बालबालिका बझाङको थलारास्थित खोलीको उकालो काट्दै थिए । सबैको पिठ्युँमा आफ्नो तौल भन्दा गह्रौँ भारी थिए । चैतको गर्मीमा खलखली पसिना बगाउँदै हिँडिरहेका उनीहरु निकै थकित देखिन्थे ।
नानीहरु थलारा गाउँपालिकामा बस्ने बादी समुदायका बालबालिका हुन । यसरी भारी बोकेर उकालो चढ्नु उनीहरुको दैनिकी हो । बादी समुदायका प्राय सबै बच्चाहरु दैनिक जसो बिहान एक घण्टा ओरालो हिँडेर झनाना बजार पुग्छन । अनि आफ्नो ताकत अनुसारको स्थानीय व्यापारीको सामान बोकेर २/३ घण्टा लगाएर उकालो चढ्छन् ।
यसरी भारी बोकेर एक जनाले दैनिक एक देखी डेढ सय सम्म कमाउँदा रहेछन् । तर विडम्बना । नानीहरुले दुख गरेर कमाएको पैसा भने उनीहरुका बाबु आमाले रक्सी खाएर उडाइदिँदा रहेछन् ।
स्थानीय व्यापारीको २ कार्टुन मदिरा र अन्य सामान भएको ३० किलोको भारी लिएर उकालो चढ्दै गरेकी १० वर्षिया निर्मला बादीले भनिन् ‘महिना भरीमा तिन चार हजार जति कमाउँछु होला । ५/६ सय जतिको मैले खाजा खान्छु । बांकी बुवा आमाले रक्सी खाएरै सकाउनु हुन्छ’
केही वर्ष अघि यो समुदायले नाचगान गरेर तथा माटाका भाडांकुडा बनाएर जिविका चलाउँदै आएको थियो । पछिल्लो समयमा विभिन्न प्रविधिका कारण दुबै पेशा लोप भए पछि यो समुदायका मानिसहरु मागेर गुजरा चलाईरहेका छन । प्राय सबै महिला पुरुषहरुमा मदिराको लत रहेको छ ।
आफु रात दिन रक्सी खाएर माति राख्छन’ १२ बर्षिय चाँदनी बादीले भनिन् ‘हामीले दुख गरेर भारी बोकी कमाएको पैसा पनि रक्सी खाइदिन्छन’ पैसा नदिए पिट्ने र खोस्ने भएका कारण कमाएको सबै रकम आमाबाबुलाई नै बुझाउने गरेको उनले सुनाइन् ।
दैनिक जसो भारी बोकेर केटाकेटीहरुले नै परिवार चलाउने गरेको र बयस्कहरु मदिरामै भुल्ने गरेको स्थानीय महिला स्वास्थ्य स्वंयम सेविका चक्रु देवी रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यि बच्चाहरु दिनदिनै भारी बोक्छन । यिनका बाउआमाहरु बिहानै देखी रक्सी खाएर सुतेका होलान । केटाकेटी ले नै परिवार धानेका छन्’ ।
आफुहरुको पहिला देखिनै माग्ने र मदिरा पिउने जात भएकोले यसलाई अन्यथा लिन नहुने ५५ वर्षिय रंगे बादीले बताए । रक्सीले लठ्ठ परेको अवस्थामा भेटिएका उनले भने ‘हामीले यसरी नै हाम्रा आमाबाबुलाई पाल्यौ । यिनिहरु हामीलाई पाल्छन् । यिनलाई यिनकै छोरा छोरीले पाल्छन्’ ।
सिंगो बादी समुदाय नै मदिराको लतमा नराम्ररी फसेका कारण उनीहरुको उन्नती हुन नसकेको स्थानिय गोरख विस्टले बताए । उनले भने ‘चौविसै घण्टा रक्सी खान्छन् । भविष्यको विषयमा चिन्ता छैन् ।
अनि कसरी उनीहरुको प्रगती हुन्छ ?’ बादी समुदायको उत्थानको लागि विभिन्न संघ संस्थाले प्रयास गरे पनि उनीहरुको मदिराको लतले गर्दा सफल हुन नसकेको उनको भनाई छ ।