रामेछापको खिम्तीक्षेत्रमा भीषण बाढी

श्रावण १, २०७४ | रामेछाप

रामेछापको लिखु गाउँपालिका ७ खिम्तीमा गएराति आएको बाढीले बगाएर १ जनाको मृत्यु भएको छ । ४ जना वेपत्ता भएका छन् । बाढीले खिम्तीबाट फर्पु तर्फ जाने सडकमा पर्ने छत्तिवने खोलाको पुल बगाएको छ । पुल नजिकका २ घर समेत बगेका छन् ।

खिम्ती क्षेत्रमा हिजो अपरान्हदेखि निरन्तर बर्षा भएको हाम्रा सहकर्मीले जनाएका छन् । राति १० बजेपछि खहरे र छतिवनेमा बाढी बढेको थियो । स्थानीय गणेश दाहालका अनुसार खिम्ती बजारमा रहेका खहरेपुलको उत्तरतर्फको गल्छिबाट वजार क्षेत्रमा बाढी पसेकाले केहि घरमा क्षति पुगेको छ ।

खिम्तीमा बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि राति पुग्ने प्रयास गरेपनि सडक अबरुद्ध भएका कारण अझै प्रहरी त्यहाँ पुग्न सकेको छैन । प्रहरी नायव उपरीक्षक कुमोध ढुंगेल सहितको टोली खिम्तीतर्फ गएको छ ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले प्रारम्भिक सूचनाका आधारमा जिल्ला सदरमुकामबाट सुरक्षा निकायबाट उद्धार कार्यका लागि सुरक्षाकर्मी परिचालन गरीएको बताउनुभयो । खिम्ती र फर्पु क्षेत्र उच्च जोखिममा रहेका क्षेत्र हुन । खिम्तीमा चार बर्ष अघी बाढीले बगाएर ८ जनाको मृत्यु भएको थियो ।  

 


प्रतिक्रिया