कैलालीमा प्रहरीद्वारा महिलामाथि कुटपिट, जाँचबुझ समिति गठन

जेष्ठ २४, २०८२ | धनगढी

टीकापुरको सत्ती प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) यज्ञराज पन्तले स्थानीय एक महिलामाथि कुटपिट गरेका छन् । टीकापुर घर भई हाल जागिरको सिलसिलामा धनगढीमा बस्दै आएकी राजकुमारी कुँवर शाहलाई सई पन्तले कुटपिट गरेका हुन् । उनले कुटपिट गर्दै गरेको भिडियो सार्वजनिक भएपछि घटना बाहिर आएको हो ।

सुरक्षा जाँचका क्रममा शाह र प्रहरीबीच विवाद भएको बुझिएको छ । त्यस क्रममा शाहले ‘त’ भनेको भन्दै प्रहरीले उनीमाथि कुटपिट गरेको खुलेको हो । ‘सत्ती प्रहरी चौकीको बिटमा रोकिएर पानी खान छेवैमा रहेको धारामा गएकी थिए । मसँग १६ वर्षीय बाबु पनि थियो, बाबु स्कुटीनेर रोकिरहेको थियो । चौकीका प्रहरीले मेरो बाबुलाई लाइसेन्स, ब्लुबुक माग्ने थालेका थिए । मैले टाढैबाट देखेर मैले हो चलाएको, कागजपत्र मसँग छन् भन्दै थिए,’ राजकुमारीले भनिन् ‘अलि दुर्व्यवहारको हाउभाउमा प्रस्तुत भएपछि सादा पोसाकमा रहेको ती प्रहरीलाई मैले को हो तिमी भनेको हुँ । सादा पोसाकको व्यक्तिले धेरै केरकार गर्न थालेपछि शंका लागेको हो र प्रहरी भनेर चिन्ने कुरा पनि भएन । त्यसपछि त उसले सिधै लछारपछार गर्दै कुटपिट गरे ।’ 

घटना सार्वजनिक भएपछि शुक्रबार राति १२ बजेसम्म इलाका प्रहरी कार्यालय टीकापुरमा मिलापत्र गराउन विभिन्न व्यक्तिहरुले आफूलाई निकै दबाब दिएको राजकुमारीले बताइन् । ‘मैले मान्दै मानिन्, कारबाही हुनुपर्ने अडान लिएँ,’ उनले भनिन् । 

महिलामाथि कुटपिटको घटना सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाको छानबिन गर्न समिति गठन गरेको जनाएको छ । प्रहरी नायव उपरीक्षक राजकुमार सिंहको नेतृतवमा गठित पाँच सदस्यीय छानबिन समितिले सई पन्त र हवल्दार बोहरालाई जिल्ला झिकाइएको कैलाली प्रहरीले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक सिंहले राजकुमारी सिंहसँगै रहेको १६ वर्षीय किशोरले तीव्र गतिमा स्कुटी चलाएर ल्याएपछि रोकेको र लाइन्सेन्स माग्ने क्रममा उनीहरुबीच विवाद भएको खुल्न आएको बताउनुभयो ।


प्रतिक्रिया