राष्ट्रिय परिचय पत्रमा आमाको नाम छुटाइएको भन्ने समाचार गलत र भ्रामक हो : गृहमन्त्री शर्मा

रेडियो कान्तिपुर संवाददाता

श्रावण ९, २०७४ | काठमाडौं

 

गृहमन्त्री जनार्दन शर्माले राष्ट्रिय परिचय पत्रमा आमाको नाम छुटाइएको भन्ने विषयमा आएको समाचार गलत र भ्रामक भएको संसदलाई जानकारी गराउनुभएको छ । संसदका यसअघिका बैठकको शून्य र विशेष समयमा सांसदहरुले उठाएका प्रश्नको आज जवाफ दिंदै मन्त्री शर्माले राष्ट्रिय परिचय पत्रको ढाँचा सहितको विज्ञप्ती हिजो नै गृह मन्त्रालयले जारी गरिसकेको जानकारी गराउनुभयो । 

उहाँले राष्ट्रिय परिचय पत्रमा तीन पुस्ते चाहिने भएकाले आमाको मात्र नभइ हजुरआमाको समेत नाम राख्ने व्यवस्था गरिएको बताउनुभयो । मन्त्री शर्माले भ्रामक समाचार सम्प्रेषण नगर्न र यसको पछि नलाग्न सम्बद्ध पक्षलाई आग्रह गर्नुभयो । 

यस्तै मन्त्री शर्माले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा सरकारले सक्दो प्रयास गरिरहेको जानकारी दिनुभयो । उहाँले गएराती झरेको पहिरोका कारण सिन्धुपाल्चोकको क्षतिग्रस्त लार्चा पुलको सट्टामा जतिसक्दो छिटो बेलीबृज स्थापना गरी आवागमन सुचारु गर्न गृह मन्त्रालयले निर्देशन दिइसकेको बताउनुभयो । मन्त्री शर्माले छिमेकी मुलुक चीनसँग सीमाना जोडिएको कोदारी राजमार्ग पुन संचालनका निम्ति सरकारका तर्फबाट कुटनीतिक पहल गरिरहेको जानकारी दिनुभयो । 

महिला विरुद्धको हिंसा मानवता विरोधी भएको बताउँदै गृहमन्त्री शर्माले पछिल्लो समय बढेको महिला हिंसा न्युनिकरणका लागि सरकार लागिरहेको बताउनुभयो । शर्माले दैलेखको चामुण्डा विसौनीमा छाउगोठमा सर्पले टोकेर महिलोको मृत्यु भएको, रुकुममा आफ्नै श्रीमानले श्रीमती हत्या गरेको तथा बिभिन्न जिल्लामा भएका बलात्कार र हत्याप्रति सरकारको गम्भीर रहेको उल्लेख गर्नुभयो । घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउने गृहमन्त्री शर्माको प्रतिबद्धता थियो । 

 


प्रतिक्रिया