गाँजा खेती नष्ट गर्न गाउँपालिकाको वजेट

श्रावण ९, २०७४ | मकवानपुर
मकवानपुरका दुई गाउँपालिकाले अवैध गाँजा खेती नष्ट गरि कृषि र पशुपालनलाई प्राथमिकता दिन भन्दै २ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् । जिल्लाका राक्सिराङ र कैलाश गाउँपालिकाले गाँजा खेती नष्ट गरेर कृषि तथा पशुपालनमा लगानी बढाउने गरी योजना अघि सारिएको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।
ती स्थानमा मोटरबाटो निर्माण तथा वैकल्पिक खेतीको योजना रहेको बताउदै मल्लले कृषकलाई आयआर्जनका तालिम समेत दिईने योजना रहेको सुनाउनुभयो । राक्सिराङ गाउँपालिकाको खैराङ, काकडा, र सरिखेत लगायतका कृषि योग्य जमिनमा गाँजा खेती हुँदै आएको छ । कैलाश गाउँपालिकाले समेत अवैध गाँजा खेती नष्ट गरि तरकारी, फलफुल खेती र बाख्रांपालनको लागि कृषकहरुलाई प्रोत्साहन गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले बताउनुभयो ।
कैलाश गाउँपालिकाको गोगने, डाडाखर्क, कालिकाटार, भार्ता र नामटारका उर्वर जमिनमा गाँजा खेती हुने गरेको छ । गत आर्थिक बर्षमा मात्र दुवै गाउँपालिकाको ८ सय ६९ विगाहा क्षेत्रफलमा लगाएको गाँजा खेती स्थानीय प्रशासनले नष्ट गरेको थियो ।