बाढी र पहिरोका कारण धेरैजसो राजमार्ग अझै अवरुद्ध

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३०, २०७४ | काठमाडौं

बाढी र पहिरोका कारण मुलुकका धेरै राजमार्ग अझै अवरुद्ध छन् । तराईका जिल्लामा आएको बाढीका कारण पुर्वपश्चिम राजमार्ग अवरुद्ध छ भने राजधानी भित्रने पृथ्वी राजमार्ग पनि पहिरोका कारण अवरुद्ध भएको छ । पुर्वपश्चिम राजमार्गका विभिन्न स्थानमा सडक भत्किएको तथा केहि स्थानका पुलमा समेत क्षति पुर्‍याएको ट्राफिक प्रहरीले जनाएको छ । मुख्य रुपमा पथलैया देखि ईटहरीसम्मको खण्डमा बाढीले सडक कटान गरेको छ । सो सडक पुर्ण रुपमा सञ्चालन हुन केहिदिन लाग्ने बताइएको छ ।

राजधानी भित्रने मुख्य मार्ग पृथ्वी राजमार्गको बिभिन्न स्थानमा पहिरो खसेका कारण सो सडकखण्ड भएर चल्ने सवारी साधन पुर्ण रुपमा ठप्प छन् । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डको सिद्धबाबामा खसेको पहिरो अझै हटाउन सकिएको छैन ।

 पुर्वका मेची र कोशी दुबै राजमार्ग बाढी तथा पहिरोका कारण ठप्प रहेका छन् । राजधानी भित्रने बैकल्पिक फर्पिङ मार्ग पनि अवरुद्ध भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । अन्य स्थानका मार्गपनि डुवान, कटान र पहिरोको चपेटामा परेको प्रहरीले जनाएको छ ।

सबै क्षेत्रबाट सडकको अवस्था संकलन भईरहेको भन्दै महाशाखाले अधिकांश सडकमा सवारी सञ्चालन गर्नसक्ने अवस्था नरहेको जनाएको छ ।  

 


प्रतिक्रिया