देउवा र ओलीबीच जुहारी

मंसिर १५, २०७४ | अछाम, झापा

- प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले बनाएको संविधान च्यातेर बाम गठबन्धनले एक दलीय तानाशाही शासन ल्याउन खोजेको आरोप लगाउनुभएको छ ।

अछाममा आज आयोजित चुनावी सभामा देउवाले विकासको नाममा कम्यूनिष्टले सिन्को समेत नभाँचेको दावी गर्नुभयो । नेपाली कंग्रेसले जिते विकासको सबै जिम्मा आफुले लिन बताउदै उहाँले भन्नुभयो, 'वाम गठबन्धनले जिते ओलीजी प्रधानमन्त्री हुनुहुनेछ । उहाँले झापाको विकास गर्न छोडेर प्रदेश नम्बर ७ को विकास गर्नुहुन्न ।' 

बहालवाला प्रधानमन्त्रीका रुपमा करिब १५ वर्ष पछि अछाम पुगेका देउवाले सुदुरपश्चिममा कांग्रेसलाई जिताउनु पर्ने तर्क गर्दै कांग्रेसले जनतालाई मालिकका रुपमा हेरेको बताउनुभयो ।

कांग्रेसले जिते मंगलसेनदेखि चिसापानी हुदै टिकापुर सम्मको सडक कालोपत्रे गर्ने, सामाजिक सुरक्षाभत्ता दोब्बर बनाउने, बेरोजगार युवालाई भत्ताको व्यावस्था गर्ने लगायत आश्वासन दिनुभयो । 

कांग्रेस नेतृत्वको गठबन्धन दक्षिणपन्थी : अध्यक्ष ओली 

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन दक्षिणपन्थी भएको आरोप लगाउनुभएको छ । झापाको दमकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले लोकतन्त्र नै नबुझेको पार्टीको गठबन्धनलाई लोकतान्त्रिक नभनिदिन आग्रह समेत गर्नुभयो ।

मुलुकमा अहिले वामपन्थी लोकतान्त्रिक र दक्षिणपन्थी गठबन्धन चुनावी मैदानमा रहेको टिप्पणी गर्दै अध्यक्ष ओलीले बाम गठबन्धनबाहेक अर्को कुनै पक्ष लोकतान्त्रिक हुनै नसक्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘सञ्चारकर्मी साथीहरुलाई शब्द चयनमा ध्यान दिन मेरो अनुरोध छ । लोकतान्त्रिक नभएको पार्टीको गठबन्धन कसरी लोकतान्त्रिक भयो ?’

कांग्रेसको गठबन्धन लोकतान्त्रिक नभएर दक्षिणपन्थी भएको आरोप लगाउदै अध्यक्ष ओलीले दक्षिणपन्थी गठबन्धन बनेकोमा आफूहरुले छाती नपिटेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उनीहरु सबै मिले हुन्छ । भोलि हामीलाई जरैदेखि उखेलेर फाल्न सजिलो हुन्छ ।’

ओलीले जथाभावी निर्णय नगर्न पनि शेरबहादुर देउवा सरकारलाई सचेत गराउनुभयो ।  कांग्रेस सभापति देउवा भुलचुकमा प्रधानमन्त्री बनेको टिप्पणी गर्दै उहाँले संविधान संशोधनको सपना नदेख्न देउवालाई सुझाउनु भयो । 


प्रतिक्रिया