प्रदेश नम्बर ७ मा मतगणना सुरु

माघ २४, २०७४ | डोटी

प्रदेश नम्बर ७ मा राष्ट्रिय सभाको निर्वाचनको मतगणना सुरु भएको छ । ४ बजेर १० मिनेटमा मतगणना सुरु गरिएको हो । डोटीको सिलगढी स्थित पप माविमा मतदान भएकोमा जिल्ला अदालत डोटीमा मतगणना भइरहेको छ । मतपरिणाम आउन करीब डेढ घण्टा समय लाग्ने मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताउनुभयो ।

बिहान १० बजेबाट सुरु भएको मतदान तीन बजे सकिएको थियो । ५३ जना प्रदेश सांसद र १ सय ७६ नगरपालिकाका प्रमुख तथा उप प्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष गरी २ सय २९ मतदाता रहेकोमा राजपाका २ जना प्रदेश सांसद अनुपस्थित रहेका थिए । राजपाका मालमती राना थारु र कृष्ण चौधरी मतदान गर्न आएका छैनन् ।

७ नं. प्रदेशमा दलित र अल्पसंख्यक अपाङ्ग समुहमा मनोनयन दर्ता गराएका उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ । दलित तर्फ कांग्रेसका शेरेराम पार्की र एमालेका चक्र स्नेही तथा अल्पसंख्यक अपाङ्गतर्फ कांग्रेसका छत्रराज जोशी तथा माओवादी केन्द्रका महेश कुमार महरा उम्मेदवार रहेका छन् । खुल्ला र महिलातर्फ भने यस अघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

 


प्रतिक्रिया