मुख्यमन्त्रीका लागि दाबी गर्न आह्वान

फाल्गुन २, २०७४ | धनगढी

प्रदेश नं ७ का प्रदेश प्रमुख मोहनराज मल्लले बुधवार मुख्यमन्त्रीका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गर्नु भएको छ । प्रदेश प्रमुखको कार्यालय धनगढीले नेपालको संविधान २०७२ को धारा १८६ को उपधारा २ बमोजिम प्रदेशसभा सदस्यको बहुमत सर्मथन स्पष्ट देखिने गरी फागुन ४ गते दिउसो ११ बजे भित्र प्रदेश प्रमुखको कार्यालयमा दावी पेश गर्न भनिएको छ ।

प्रदेश नं ७ मा कुनैपनि दलको स्पष्ट बहुमत नदेखिएकाले बहुमत सहित दाबी पेश गर्न भनिएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव हिरालाल चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मुख्यमन्त्री नियुक्ति र प्रदेश सरकार गठनबारे राजनीतिक दलहरुसंग प्रदेश प्रमुख मोहनराज मल्लले बुधवार नै आफ्नो कार्यालयमा बोलाएर छलफल समेत छन् ।’

प्रदेशमा प्रतिनिधित्व गर्ने नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी राजपा नेपालसंग प्रदेश प्रमुख मल्लले आज छलफल गर्नु भएको थियो । निर्वाचन आयोगले मतपरिणाम बुझाएको एक महिनाभित्र मुख्यमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था भएको र परिणाम बुझाएको एक महिना पुग्न लागेकाले मुख्यमन्त्री नियुक्तिबारे छलफल भएको गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव चौधरीले बताउनुभयो ।

निर्वाचन आयोगले मतपरिणाम बुझाएको एक महिनाभित्र प्रदेश सभामा बहुमत प्राप्त दलको नेता वा दुई वा दुई भन्दा बढी दलको समर्थन प्राप्त दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ । कुनै पनि दलको बहुमत नभए वा निर्धारित अवधिमा दलहरुले बहुमत पुर्‍याएको पत्र प्रदेश प्रमुखलाई बुझाउन नसके प्रदेशको ठूलो दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने र मुख्यमन्त्रीले ६ महिनाभित्र संसदमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

यता प्रदेश सभामा दुई तिहाई बहुमत रहेको वाम गठबन्धनले भने मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुख मोहनराज मल्ललाई पत्र पठाउने तयारी गरेको जनाएको छ । सांसद त्रिलोचन भट्टलाई मुख्यमन्त्री नियुक्त गर्न आफ्ना सांसदहरुको हस्ताक्षर प्रदेश प्रमुखलाई दुई दिनभित्रै बुझाउने तयारी एमाले र माओवादीले गरेका हुन् ।

माओवादी केन्द्रका नेता भट्ट डोटीबाट निर्वाचित सांसद हुन् । माओवादी केन्द्रका सचिवालय सदस्य एवं प्रदेश नम्बर सातका ईन्चार्ज लेखराज भट्टले भन्नुभयो, ‘सर्वदलिय छलफलपछि सम्भवत: भोलि नै मुख्यमन्त्री चयनका लागि दुई दलका सांसदको हस्ताक्षर प्रदेश प्रमुख समक्ष बुझाउंछौं ।’ 

एमाले र माओवादी दुवै दल आन्तरिक छलफलमा रहेकाले मुख्यमन्त्रीको सिफारिसमा केही ढिला भएको उहाँले बताउनुभयो । दुई पार्टीबीच केन्द्रमा भएको सहमतिअनुसार मुख्यमन्त्री नियुक्तिका लागि दुवै दलका सांसदहरु हस्ताक्षर गरेर प्रदेश प्रमुखलाई बुझाउन लागिएको एमाले सांसद दीर्घ सोडारीले बताउनुभयो । उहाँले भन्नुभयो,  ‘छलफल भईरहेको छ, छिट्टै हस्ताक्षर बुझाएर मुख्यमन्त्री नियुक्तिका लागि आग्रह गर्छौं ।’ 

प्रदेश नम्बर सातमा प्रदेश सरकारको नेतृत्व माओवादीले गर्ने सहमति एमाले र माओवादीबीच भएको थियो । माओवादी प्रदेश कमिटीले डोटीबाट निर्वाचित सांसद त्रिलोचन भट्टलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय यसअघि नै गरिसकेको छ । एमालेले संसदीय दलको नेता चयन गरिनसकेकाले पनि मुख्यमन्त्री नियुक्तिमा ढिलाई भएको हो । एमालेले संसदीय दलको नेता चयन नगरे पनि सांसदहरुको हस्ताक्षरमा मुख्यमन्त्रीका लागि दाबी पेश गरिने माओवादीका एक सांसदले बताए । एमालेमा संसदीय दलको नेतामा दीर्घ सोडारी र प्रकाश शाहले दाबी गरेका छन् । प्रदेश सभामा एमालेका २५, माओवादीका १४, नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ जना सांसद छन् । प्रदेश सभाको सभामुखमा एमालेका अर्जुनबहादुर थापा निर्विरोध निर्वाचित भईसकेका छन् । मन्त्रीका लागि पनि एमाले र माओवादीभित्र सांसदहरुले लबिङ्ग थालेका छन् ।

 


प्रतिक्रिया