प्रदेश ७ : राष्ट्रिय गौरवका योजना पहिलो प्राथमिकता

फाल्गुन ६, २०७४ | धनगढी

प्रदेश नम्बर सातको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय गौरवका आयोजनालाई पहिलो प्राथमिकतामा राख्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीहरुले पदभार ग्रहण गरेपछि बसेको पहिलो बैठकले प्रदेशमा संचालनमा रहेका ३ वटा राष्ट्रिय गौरवका आयोजनाका साथै पर्यटन र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने निर्णय गरेको हो । राष्ट्रिय गौरवका आयोजनाहरु सेती लोकमार्ग, महाकाली लोकमार्ग र खुटीया दिपायल फास्ट ट्रयाक निर्माणलाई पहिलो प्राथमिकतामा राखी अगाडि वढाउने निर्णय गरिएको मन्त्रिपरिषदका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री प्रकासबहादुर शाहले बताउनुभयो ।

राष्ट्रिय गौरवका आयोजनासंगै भ्रष्टाचारमा शून्य सहनशीलता र सुशासन कायम गर्ने निर्णय गरेको प्रवक्ता शाहले जानकारी दिंदै उहाँले राष्ट्रिय गौरवका आयोजनाको निरन्तर अनुगमनका लागि प्रदेश स्तरमा एउटा संयन्त्र निर्माण गर्ने निर्णय समेत गरेको जानकारी दिनुभयो । राष्ट्रिय गौरवका ३ वटै योजनालाई समयमा काम सम्पन्न गर्न केन्द्रीय सरकारलाई अनुरोध गर्ने निर्णय भएको उहाँले बताउनुभयो । बैठकले मन्त्रिपरिषदको प्रवक्तामा आन्तरिक मामिला मन्त्री प्रकाशबहादुर शाहलाई सरकारको प्रवक्ता तोकेको छ । पर्यटनका तमाम सम्भावनालाई हेरी पर्यटकीय क्षेत्रको पहिचान गर्ने र त्यसको संरक्षण तथा प्रवद्र्धनमा जोड दिने निर्णय समेत गरेको उहाँले जानकारी दिनुभयो । 

मुख्यमन्त्री तथा मन्त्रीद्वारा पदभार ग्रहण 

मन्त्रिपरिषदको बैठक अघि आजै मुख्यमन्त्री त्रिलोचन भट्ट सहित ६ जना मन्त्रीले आ आफ्नो मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण लगत्तै मुख्यमन्त्री भट्टले प्रदेशको एक मात्र रेफरल सेण्टरका रुपमा रहेको सेती अञ्चल अस्पतालको निरीक्षण गर्नुभयो । निरीक्षण गर्दै मुख्यमन्त्रीले अस्पतालमा उपलब्ध जनशक्तिको उपयोग गरेर सेवा प्रभावकारी बनाउन चिकित्सक तथा कर्मचारीलाई निर्देशन समेत दिनुभयो । 

निरीक्षणका क्रममा मुख्यमन्त्रीले अस्पतालको सेवाप्रति सर्वसाधारणले गर्दै आएको गुनासो सम्बोधन गर्न समेत निर्देशन दिनुभयो । प्रदेश सरकारले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन र काम नगर्ने कर्मचारीलाई कारबाही गरिने उहाँले चेतावनी दिनुभयो ।

मुख्यमन्त्रीलाई निरीक्षणका क्रममा मेडिकल सुपरिटेण्डेण्ट डा. सजन केसीले चिकित्सक दरबन्दी कम रहेको र भएको दरबन्दी समेत पूर्ति नहुँदा स्तरीय सेवा दिन समस्या भएको बताउनुभयो । सरकारबाट स्वीकृत ५० शैय्या र अस्पताल विकास समितिले आन्तरिक श्रोतमा ७५ शैय्या गरी १ सय २५ शैय्या रहेको अस्पतालमा बिरामीको चाप धान्न कठिन भएको डा. केसीले मुख्यमन्त्रीलाई जानकारी गराएका थिए ।  

 


प्रतिक्रिया