रङहरुको पर्व होली हर्सोल्लासका साथ मनाइँदै

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १७, २०७४ | काठमाडौं

रङहरुको पर्व होली काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा आज आपसी सद्भाव, उत्साह र हर्सोल्लासका साथ मनाइँदै छ । असत्यमाथि सत्यको विजयको प्रतिकका रुपमा यो पर्व मनाउने गरिन्छ । होलीको अवसरमा राजधानी लगायत मुख्य शहरहरुमा विभिन्न कार्यक्रम आयोजना गरिएका छ ।

पहाडी जिल्लामा आज मनाइने होली तराईका जिल्लामा भने भोली मनाइदैछ । काठमाण्डौको बसन्तपुरमा एक साताअघि विधिपूर्वक चिर ठड्याएपछि होली पर्व शुरुवात भएको थियो । असत्यमाथि सत्यको विजयको प्रतिकको रुपमा ठड्याइएको चीरलाई आज टुँडीखेलमा विर्सजन गर्ने चलन छ । 

यसैबीच होलीको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीमा खुसीका रङहरु छर्दै हर्षोल्लास र शान्तिको सन्देश फैलाउन सकोस् भन्ने कामना गर्नुभएको छ । होलीले नेपालीबीचको एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्दै सबै संस्कृति एवम् परम्पराको संरक्षण र संवद्र्धन गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि राष्ट्रपतिले गर्नुभएको छ । यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री के पी शर्मा ओली र विभिन्न दलका शीर्षस्थ नेताले पनि होलीका अवसरमा शुभकामना दिँदै एकता र सद्भावमा जोड दिएका छन् ।

यसैबीच रेडियो कान्तिपुरले होलीको अवसरमा आज पोखरामा बिशेष कार्यक्रम गर्दैछ ।  सरकारले पहाडका जिल्लामा आज र तराईमा भोली सार्वजनिक विदा दिएको छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ ।


प्रतिक्रिया