रेशम चौधरी अपराधी नै हुन् :एआइजी नेपाल

चैत्र ६, २०७४ | बझाङ

–नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरिक्षक तथा प्रदेश नं ७ का प्रहरी प्रमुख माधव प्रसाद नेपालले रेशम चौधरी अपराधी भएको बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङको हाता भित्र निर्मित महिला तथा बालबालिकाका सेवा केन्द्रको भवन उदघाटनका लागि बझाङ पुगेका प्रहरी महानिरिक्षक नेपालले चौधरीकै नेतृत्वमा टिकापुर नरसंहार भएकाले उनी अपराधी भएको बताउनु भएको हो ।

उनी लगायत घटनामा संलग्नहरुलाई हदै सम्मको सजायको माग गर्दै प्रहरीले अदालतमा मुद्धा दायर गरेको बताउँदै अदालतबाट उनलाई कारबाही हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो । केही दिन अघि कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेपछि अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका चौधरीलाई अनसन तोडाउने क्रममा गृहमन्त्रीले जुस खुवाएको दृष्यले के संकेत गर्छ भन्ने पत्रकारको जिज्ञासामा नेपालले राजनितिक भएकाले त्यस विषयमा बोल्न नमिल्ने बताउनुभयो ।

समाजमा अपराध गर्ने कुनै पनि व्यक्तिले उन्मुक्ती पाउनु हुन्न भन्ने मान्यतामा प्रहरी दृढ रहेको बताउँदै उहाँले प्रहरी टिकापुर घटनामा प्रहरीले लामो अनुसन्धान गरेर पेश गरेका प्रमाणको आधारमा अदालतले फैसला गर्ने बताउनुभयो । २०७३ साल भदौमा कैलालीको टिकापुरमा भएको घटनामा एसएसपी सहित ७ जना प्रहरी र एक नाबालकको हत्या गरिएको थियो । 


प्रतिक्रिया