पाउडर दुध तस्करी आरोपमा नेपालगञ्ज भन्सार प्रमुख मन्त्रालय तानिए

असार १३, २०७५ | नेपालगञ्ज

नक्कली प्रज्ञापनपत्र बनाएर पाउडर दुध तस्करी गरेको आरोपमा नेपालगञ्जस्थित भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यलाई अर्थ मन्त्रालयमा तानिएको छ । दुध तस्करी प्रकरणमा मिलेमतोको तथ्य भेटिएपछि आचार्यलाई मन्त्रालय र भन्सार अधिकृत बटु पौडेललाई भन्सार विभागमा सरुवा गरिएको हो ।

गत साता नेपालगञ्ज भन्सारबाट पास भएको एउटा ट्रक कलंकीमा समातिएको थियो । नक्कली प्रज्ञापनपत्रका आधारमा भन्सार कार्यालयले सो ट्रक भन्सारबाट पास गराएको थियो ।

भन्सार कार्यालयको चरम लापरबाही देखिएपछि अर्थ मन्त्रालयले सहसचिव झक्क आचार्यको संयोजकत्वमा गठन गरेको छानबिन समितिले भन्सार कार्यालयमा गएर स्थलगत रुपमा अनुसन्धान गरी दिएको प्रतिवेदनका आधारमा भन्सार प्रमुखलाई हटाइएको हो ।

अनुसन्धानको क्रममा ५/६ महिनादेखि नै त्यसरी नक्कली प्रज्ञापनपत्रका आधारमा नेपालगञ्ज भन्सारबाट मालबहाक ट्रक छाडिने गरिएको खुलेको छ । कर्मचारीको मिलेमतो बिना पटक पटक नक्कली प्रज्ञापनपत्रका आधारमा तस्करी सम्भव नभएको प्रतिवेदनका आधारमा उनीहरु तानिएका हुन् । 

राजश्व अनुसन्धान विभागले पनि घटनाको अनुसन्धान अघि बढाएको छ । तस्करी गर्ने चालक पक्राउ परेपनि मुख्य व्यापारी पक्राउ परेका छैनन् । कर्मचारीको मिलेमतो खुलेमा मतियारका रुपमा कर्मचारीलाई समेत राजश्व चुहावट नियन्त्रण ऐनअनुसार मुद्दा चल्ने विभागका कर्मचारीहरु बताउँछन् ।


प्रतिक्रिया