करेन्ट लागेर डोटीमा चारको मृत्यु

असार १९, २०७५ | डोटी

डोटीको आदर्श गाउँपालिका वडा नं. १ चासीमा विद्युतको पोल सार्ने क्रममा करेन्ट लागेर ४ जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक लालबहादुर धामीका अनुसार स्थानीय ३२ वर्षीय जयबहादुर खड्का, प्रहरी जवान २४ वर्षीय लोकेन्द्र बहादुर खड्का, २३ वर्षीय बिरेन्द्र खड्का र २३ वर्षीय दिपक खड्काको मृत्यु भएको हो ।

नारायण बहादुर खड्का गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि दिपायल राजपुरस्थित सुजुङ्ग अस्पताल लगिएको छ । घटनास्थलमा प्रहरी अझै पुग्न सकेको छैन । 

दिपायलबाट घटनास्थल पुग्न डेढ घण्टाको दूरी छ । वर्षाका कारण बाटो बिग्रेकाले प्रहरी पैदलै घटनास्थल तर्फ गइरहेको हाम्रा सहकर्मी मोहन शाहीले जनाएका छन् । 

स्थानीय युवाले खाली रहेको पोल अर्को ठाउँमा सार्ने क्रममा हाइटेन्सन लाइनमा खस्दा करेन्ट लागेको विद्युत कार्यालयले जानकारी दिएको छ । पोल सार्नेबारे विद्युत कार्यालयलाई कुनै जानकारी नदिई सार्न लाग्दा दुर्घटना भएको बताइएको छ ।  

 


प्रतिक्रिया