सप्तकोशी नदीमा पानीको बहाव बढ्यो, रातो बत्ति बालियो

असार २१, २०७५ | विराटनगर

पूर्वी पहाडी जिल्लामा भएको बर्षासंगै सप्तकोशीको सहायक नदीहरुमा आएको बाढीको कारण सप्तकोशी नदीको जलस्तर बढेको छ । यो सिजनको सबैभन्दा बढी एक लाख ५४ हजार ३ सय ९३ क्यूसेक पुगेको छ । ब्यारेजका ५२ मध्ये २४ ढोका खोलिएका छन् । दुई बजे पानीको सतह एक लाख ५० हजार पाँच सय क्यूसेक थियो ।

आज बिहानबाट कोशीको जलस्तर लगातार बढी रहेको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायण प्रसाद चिमरियाका अनुसार पानीको बहाव एक लाख ५० हजार क्यूसेक नाघेपछि खतराको सूचक रातो बत्ति बालिएको छ ।

ब्यारेजको पूर्व र पश्चिममा दुई वटा रातो झण्डा गाडिएको छ । डीएसपी चिमरियाका अनुसार यो सिजनको सबैभन्दा उच्च पानीको बहाव रेकर्ड भएको हो । 

निर्माण ताका ६४ वर्ष अघि १२ लाख क्यूसेक पानी नियन्त्रण गर्ने क्षमताको कोशी ब्यारेजमा बालुवा भरिएको कारण नदीको सतह माथि आएकाले अहिले ६ लाख क्युसेक भारमात्र बहन गर्ने प्राविधिकहरु बताउंछन् । 

२०६५ साल भदौमा कोशीको पूर्वी तटबन्ध भत्काएर कोशी नदी गाउँ पसेको थियो । जसबाट नेपाल र भारतका हजारौं मानिस घरबार बिहीन भएका थिए । 

इनरुवा पश्चिम रहेको सुनसरी खोलामा आएको बाढी गाउँ भित्र पस्दा ५० परिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीले बताउनुभयो । इनरुवा नगरपालिकाको दक्षिणी क्षेत्र, भोक्राहा, नरसिंह लगायतका बस्तीमा सुनसरी खोलाको पानी पसेपछि जनजीवन प्रभावित बनेको छ । 


प्रतिक्रिया