जाजरकोटमा पहिरोले २ घर पुर्‍यो

श्रावण २०, २०७५ | जाजरकोट

जाजरकोटको भेरी नगरपालिका–३ ठाँटीबजारमा पहिरोले दुई वटा घर पुरिएका छन् । पहिरोले घर पुर्दा घरमा रहेका ५ जना बालबालिका सम्पर्कबिहीन भएका छन् ।

आज बिहान ८ बजेतिर पहिरो खसेको हो । घरभित्र ५ जना बालबालिका रहेको जानकारीका आधारमा प्रहरी र स्थानीयले उद्धार सुरु गरेका छन् । अहिलेसम्म ती बालबालिका बारे एकिन हुन सकेको छैन । 

चारैतिर पहिरो खसेपछि खलंगा बजारमा तीन सातादेखि यातायात ठप्प छ । वर्षात् सुरु भएसँगै साउन पहिलो सातादेखि खलंगा पहिरोको घेरामा परेको छ । खलंगा–पाँचकटिया, खलंगा–नेपालगन्ज, खलंगा–रिम्ना हुँदै डोल्पा जाने सडक पहिरोको जोखिम मूल्यांकन नगरी खनेकाले चारैतिर पहिरो खसेको हो ।

यस्तै तीन साताअघिको भारी वर्षाले खहरे खोला, भेलाले, न्युरोड, रेडक्रस भवन, सिटिजन बैंक, रिसाङ, स्याँलालगायत स्थानमा सडक भत्किएको छ। खहरेखोला र रेडक्रस भवन नजिकको सडकमा मान्छे हिँड्ने बाटोसमेत छैन। पैदलयात्री जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्। 

सडक विस्तार गर्दा मापदण्डअनुसार नाली नबनाइएकाले पानीले सडक बगाउँदै लगेको छ।


प्रतिक्रिया