जाजरकोटमा पहिरोले १ को मृत्यु, ८ पुरिए

श्रावण २०, २०७५ | जाजरकोट

अविरल बर्षातका कारण जाजरकोटको भेरी नगरपालिका ३, ठाँटीबजारमा आज विहान पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । ८ जना पुरिएका छन् । एक सय मिटर माथिबाट आएको पहिरोले स्थानीयका २ वटा घर समेत पुरिएका छन् ।  

पहिरोमा स्थानीय तीर्थराज बोहराको घर पुरिदा ५ बर्षीय नज्मा बोहराको मृत्यु भएको हो । सोही घरमा डेरा गरी बस्ने एकै परिवारका ४ जना र स्थानीय जीतबहादुर सुनारको घरमा बस्ने ४ जना बालकको अवस्था अज्ञात छ । पहिरोमा पुरिएका ३५ बर्षीय लालबहादुर लुहारको साढे एकघण्टा पछि सकुशल उद्दार गरिएको छ । लुहारको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ ।

२५ बर्षीय सितला लुहार, ६ बर्षीय सम्झना विक, ३ बर्षीय मनिषा विक, ९ बर्षीय भगवती विक, १२ बर्षीय गोविन्द परियार, ६ बर्षीय दशरथ परियार, १२ बर्षीय नरेन्द्र परियार र १० बर्षीय नबीन परियारको अवस्था अज्ञात रहेको निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाले बताउनुभयो । पहिरोमा पुरिएकाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय लगायतले उद्दार जारी राखेका छन् ।

पहिरोको कारण ठाँटीबजार आसपासका १७ वटा घर जोखिममा रहेको अधिकारीले बताउनुभयो ।  

 


प्रतिक्रिया