कञ्चनपुर घटनाबारे अनुगमन गर्न कांग्रेस केन्द्रीय टोली महेन्द्रनगरमा

भाद्र ११, २०७५ | महेन्द्रनगर

कञ्चनपुर घटनाबारे स्थलगत अनुगमनका लागि नेपाली कांग्रेसको केन्द्रीय समितिले खटाएको टोली महेन्द्रनगर पुगेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गएिको घटनाको स्थलगत वस्तुस्थिति बुझ्न केन्द्रीय समितिले खटाएको टोली महेन्द्रनगर पुगेको हो ।

सो टोलीले घटनाको अनुसन्धानका क्रममा प्रहरीले निर्दोष व्यक्तिलाई दोषी देखाउने काम गर्न थालेपछि आन्दोलन चर्केको दाबी गरेको छ । टोलीले आन्दोलनमा राजनीति भयो भन्ने अभिव्यक्तिले आन्दोलनलाई थप उत्तेजित बनाएको ठहर गरेको छ ।

‘कुनै पार्टी विशेषको अगुवाइमा आन्दोलन यहाँसम्म पुगेको होइन’ सोमवार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा टोलीमा संलग्न कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडूले भन्नुभयो, ‘कांग्रेस यसप्रकारको मानवीय सम्वेदनाको विषयमा राजनीति गर्दैन, राजनीतिक दोष एकअर्कालाई थोपर्नु भनेको अनुसन्धानलाई प्रभावित पारी घटनालाई ढाकछोप गर्न गरिएको हो ।’ 

कांग्रेसले घटनाको खबरदारी गर्न खोजेको उल्लेख गर्दै उहाँले छानविनको क्रममा संशय हुन थालेपछि शनिबारको केन्द्रीय समितिको बैठकको पहिलो एजेण्डा नै निर्मला हत्याकाण्ड हुन पुगेको बताउनुभयो । ‘आन्दोलन स्वस्फुर्त ढंगले भएको हो, आन्दोलनमा राजनीति भयो भन्ने अभिव्यक्तिलाई आन्दोलनरत पक्षले प्रतिवाद गरेका हुन ।’

उहाँले न्याय माग्दा राज्यपक्षले निर्ममतापूर्वक दमन गरेको आरोप समेत लगाउनुभयो । अनुसन्धान गर्ने बहानामा घटनास्थल आसपासका निर्दोष व्यक्तिहरुलाई पक्राउ गरेर यातना दिइयो उहाँले आरोप लगाउनुभयो । स्थलगत अध्ययनका क्रममा थुप्रै व्यक्तिले आफ्ना पीडा सुनाएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘कांग्रेस निष्पक्ष छानविन गरी घटनाका दोषी पत्ता लगाउनु पर्छ भन्दै आएको छ, हामी छानविनमा सहयोग गर्न तयार छौ, तर दोषी उम्कनु हुँदैन र निर्दोषलाई फसाउनु हुँदैन भन्ने कुराको पार्टीले खबरदारी गरिरहने छ ।’

टोलीमा संलग्न अर्का केन्द्रीय सदस्य वीर बहादुर बलायरले केन्द्रीय समिति बैठकमा घटनाको अनुसन्धानका लागि न्यायीक आयोग गठन गरिनुपर्ने मागबारे चर्चा हुँदा काँंग्रेस अनुसन्धानमा बाधक भयो भन्ने आरोप लाग्न सक्ने सम्भावनालाई बुझेर अहिले गठन भएको उच्चस्तरीय समितिको छानविनको नतिजा पर्खने निर्णयमा पुगेको उल्लेख गर्नुभयो ।

‘आन्दोलन चर्किरहेका बखत कांँग्रेसलाई लाञ्छना लगाउने काम पनि भयो’ उहाँले भन्नुभयो, ‘कांँग्रेस लाञ्छनाबाट बिचलित छैन, आयोगले समयावधि भित्रै काम सम्पन्न नगरे कांँग्रेस आधिकारिक रुपमा सशक्त विरोधमा उत्रने छ ।’ उहाँले घटनाको अनुसन्धान अत्यन्त फितलो भएको उल्लेख गर्दै गृहमन्त्रीले संसदमा २ जना पक्राउ परेको बताएपनि कञ्चनपुर प्रहरीले उनीहरुलाई निर्दोष हुन भनेर छोड्ने काम गरेको बताउनुभयो । 

 


प्रतिक्रिया