‘फाइट व्याक’को बढ्यो माग

आश्विन २०, २०७५ | दोलखा

यौनहिंसा न्युनिकरण गर्न सुरु भएको ‘फाइट व्याक’ अभियानको माग बढेको छ । स्कूल, कलेज लगायतका १३ स्थानमा उक्त अभियान सकेको दोलखा प्रहरीले मागका आधारमा अभियानको अवधि थपेको छ । भाद्र ६ गतेदेखि सुरु भएको १५ दिने अभियानलाई केही दिन बढाइने प्रहरी नायव उपरिक्षक वासुदेव पाठकले बताउनुभयो । 

के हो फाइट व्याक ? स्कूल, कलेज र महिलाहरुको जमघट हुने ठाउँमा पुगेर प्रहरीले भन्छन, ‘यो कुनै पनि यौन दुराचार हुन लागे प्रतिरक्षा गर्ने उपाय हो । कसैले यौन हिंसा गर्न खोजे रोक्ने शुत्र हो । आफ्नो संवेदनशील अंगलाई अरुबाट बचाउने तरिका हो ।’

दोलखा प्रहरीले किन फाइट व्याक नाम दियो ? यौन अपराधविरुद्धको स्कूल शिक्षा कार्यक्रममा दोलखाका विद्यार्थीहरुले मन पराउने शब्द भएकाले उक्त नाम दिइएको प्रहरी नायव उपरिक्षक पाठकले बताउनुभयो । विद्यार्थीलाई तीन पटक फाइट व्याक भन्दै ताली पड्काउन लगाएर सुरु गरिने यौन हिसांविरुद्धको शिक्षालाई विद्यार्थीले उपलब्धीको रुपमा लिइरहेका लिएको उहाँले बतउानुभयो । 

पहिलो चरणको अन्तिम कार्यक्रम भीमेश्वर बहिरा स्कूलमा भएको थियो । त्यहाँ प्रहरीले यौन दुराचारविरुद्ध कक्षा चलायो, भिडियो देखायो र अभ्यास सिकायो । १२ वटा स्कूल, एउटा मिस दोलखाका प्रतिस्पर्धी प्रशिक्षण केन्द्रमा सम्पन्न पछि आइतबारबाट प्रहरीको उक्त अभियान टोली गाउँमा लाग्दै छ ।

मागका आधारमा उत्तरका दुर्गम बस्तीहरुमा पुग्ने कार्यतालिका छ । जिरी नगर र तामाकोसी गाउँपालिका स्कूलहरुबाट पनि माग भएकाले कार्यक्रमको अवधि बढाइएको हो । पहिलो चरणको १५ दिने अभियानको अर्को महत्वपूर्ण कार्यक्रम शारिरीक आत्मरक्ष सम्बन्धी अभ्यास हो । आक्रमण भए प्रतिआक्रमण कसरी गर्ने प्रर्दशन गरिन्छ । कसरी उम्कने, कसरी हिर्काउने र आफूलाई लडाए कसरी प्रत्याक्रमण गरी उम्कने तरिका सिकाइन्छ । 

उक्त अभियानमा ‘पेन—ड्रप—बक्स’ अर्थात पीडा पोख्ने बाकस पनि राखिन्छ । उक्त बाकसमा बालबालिकाहरुलाई यौन हिंसा परिवारबाटै भैरहेको हुनसक्छ वा बाहिरियाबाट भन्ने लिखित पीडा पोख्न लगाइन्छ । प्रतिरक्षाको कक्षा समाप्त भएपछि भनिन्छ, ‘तापाईहरुलाई काखमा राख्ने बाहनामा, मायाको गरेको जस्तै गरी सुमसुम्याएको बाहनामा कुनै पुरुषले अभद्र कार्य गरिरहेको हुन सक्छन् ।

सधैं चकलेट दिएर फकाइरहेको हुन सक्छ । फेसबुक र फोन मार्फत फकाइरहेको हुन सक्छ । स्कूलमै साथी र शिक्षकबाट गलत कार्य गर्ने प्रयास गरिरहेको हुनसक्छ । त्यस्तो कुराले मनमा डराइरहेको छ र अभिभावकलाई भन्न सकिरहेको छैन भने लेखेर यो बाकसमा खसाल्नुस । आफ्नो पहिचान दिन आवश्यक छैन, दिनु भएमा पनि गोप्य राखिने छ ।’

भिडियो डकुमेन्ट्री, कक्षा र प्रत्याक्रमण अभ्यास सकिसकेपछि अल्पाइन स्कूलका बालिका र शिक्षिकाहरुले हिम्मत बढेको बताइन् । भीमेश्वर बहिरा प्राविका विष्णु कार्कीले बहिरा विद्यार्थीलाई यौनहिंसा भएमा प्रतिरोध गर्ने तरिका जानेको र हिम्मत बढाएको बताए । स्कूलमा यो कार्यक्रम निरन्तर गर्ने उनले बताए । 


प्रतिक्रिया