बाँकेमा भएको दुर्घटनामा मृत्यु भएका मध्ये ४ जनाको सनाखत

आश्विन २०, २०७५ | बाँके

– बाँकेको मुगुवा खोला नजिक भएको सवारी दुघर्टनामा परी मृत्यु भएका ६ मध्ये ४ जनाको सनाखत भएको छ । दाङ तुल्सीपुरका ३२ वर्षीय तुल्सी रावत, सोही ठाउँकी २६ वर्षिया बसन्ती चौधरी, दाङ तुल्सीपुर ५ का ५० वर्षीय नारायणी श्रीस र सल्यान शारदा नगरपालिका ५ का द्रोण बुढाथोकीको सनाखत भएको इलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख डिएसपी रमेशबहादुर सिंहले जानकारी दिनुभयो । अन्य मृतक २ जनाको सनाखत हुन बाँकी छ । घाईते १८ जनाको नेपालगञ्ज र कोहलपुरमा उपचार भैरहेको छ ।

सडकमा पहिले नै पल्टिएको ट्रकलाई दाङको तुलसीपुरबाट तीब्र गतिमा नेपालगन्ज आईरहेको रा १ ख १६६२ नम्बरको हायसले ओभरटेक गर्ने क्रममा लु १ ख ७७२९ नम्बरको ट्रकसँग ठोक्किदा दुर्घटना भएको हो । राप्ती सोनारी गाउँपालिका ९ मुगुवा खोला नजिकै भएको दुर्घटनामा हायस चालकको लापरवाही देखिएको प्रहरीले जनाएको छ । घटनापछि बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल घाईतेहरुलाई भेट्न शिक्षण अस्पताल कोहलपुर पुग्नु भएको थियो । उहाँले उपचारमा कमी हुन नदिन चिकित्सकहरुलाई निर्देशन दिनु भएको छ ।  

 


प्रतिक्रिया